कास्की जिल्लाले प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ७ विकेटले पराजित गर्दै कास्कीले उपाधि हात पारेको हो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको तनहुँले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १८० रन बनाएको थियो। १८१ रनको लक्ष्य पाएको कास्कीले ४१.३ ओभर खेल्दै तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
तनहुँका लागि चौथो नम्बरमा आएका भन्स क्षेत्रीले १०७ बलमा ५ चौकासहित टोलीका लागि सर्वाधिक ५९ रन जोडेका थिए। दिनेश बुढामगरले ८३ बलमा ४ चौका र १ छक्कासहित ४८, कृष ऐरले ३२ बलमा एक छक्कासहित २५ रन बनाएका थिए।
जवाफी ब्याटिङका लागि मैदानमा उत्रेका कास्कीका लागि प्लेयर अफ द म्याचसमेत रहेका अनिल गुरुङले १३५ बलमा ९ चौका प्रहार गर्दै ७९ रनको योगदान दिएका थिए। मुस्कान थापाले ६१ बलमा ३ चौका प्रहार गर्दै ४१, अर्जुन कुमालले ३६ बलमा ३ चौका र १ छक्कासहित ३३, रोहित चन्द्रले १६ बलमा ३ चौकासहित १२ रन बनाएका थिए।
खेलमा कास्कीका विपिन खत्रीले १० ओभर खेल्दै ३ मेडनसहित २० रन खर्चेर ४ विकेट हात पार्न सफल भएका थिए। सुवास भण्डारी १० ओभर खेल्दै ४ मेडनसहित ३१ रन खर्चेर ३ विकेट, कृष्ण पौडेल र अर्जुन कुमालले समान १-१ विकेट लिएका थिए।
तनहुँका चन्द्रकान्त पौडेलले १० ओभर खेल्दै ३२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए।
प्रतियोगितामा कास्कीका सुवास भण्डारी बेस्ट बलर र म्यान अफ द सिरिज, तनहुँका समीर कँडेल बेस्ट ब्याटर घोषित भएका थिए।