कुमारी सहकारीकाे बचत रकम हिनामिना प्रकरण : आरोपीहरूको बयान सुरु

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दाका आरोपीहरूसँग अदालतमा बयान सुरु भएको छ । सरकारी वकिल कार्यालय म्याग्दीले १५ फागुनमा एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापासहित २५ जनालाई विपक्षी बनाएर अभियोगपत्र दर्ता गरेको थियो । 

१६ फागुनमा सार्वजनिक बिदा र १७ फागुन शनिबार परेपछि आइतबारदेखि जिल्ला अदालत म्याग्दीले बयान लिन सुरु गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आइतबार पहिलो दिन हिरासतमा रहेकी सहकारीका सचिव देवीकुमारी थापाको बयान सकिएको अदालतका स्रेेस्तेदार भोलाराज रेग्मीले जानकारी दिए। उनका अनुसार सबै आरोपीको बयान लिएपछि थुनछेक बहस हुनेछ। 

सहकारी रजिस्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध संगठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणबापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानी नोक्सानी पुर्याई सहकारी ऐन, ०७४ को नियमावली ०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो।  

सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरूलाई विपक्षी बनाइएको छ। २० माघ ०८१ मा पक्राउ परेका पाँच र ७ फागुनमा पक्राउ परेका एकजना प्रहरीको हिरासतमा छन् भने सहकारीका वर्तमान अध्यक्ष यामबहादुर रोकासहित १९ जना फरार छन्। 

कुमारी सहकारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिको पदाधीकारी राजकुमार थापा, पूर्वप्रबन्धक रुद्र गुरुङ, सचिव देवीकुमारी थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली र थमबहादुर गर्बुजालाई २० माघ ०८१ मा र लेखासमितिका पूर्वसदस्य लोकबहादुर पुन (लोकेश)लाई ७ फागुनमा प्रहरीले पक्राउ गरेको थियो। 

६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको पैसाबाट सञ्चालकहरूले ढुकुटी खेलाउने, बोर्डिङ सञ्चालन, घरजग्गा कारोबारलगायतका व्यक्तिगत स्वार्थमा प्रयोग गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गरेको छानबिन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 
 

सुझावित समाचार