गण्डकी प्रदेशस्तरीय तेस्रो जेसिज कप प्रतियोगिता बाग्लुङमा सुरु भएको छ। बाग्लुङ जेसिजद्वारा आयोजित प्रतियोगिताको आइतबार बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले उद्घाटन गरेका छन्। सुवेदीले प्रतियोगिताको ट्रफी अनावरण गर्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेका थिए।
प्रतियोगितामा ११ टिम सहभागी रहने आयोजक बाग्लुङ जेसिजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए। फुटबलमार्फत वातावरण संरक्षणको सन्देशलाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति ‘एक गोल, एक वृक्ष, एक खेलाडी एक वृक्ष र एक सदस्य एक वृक्ष’ अभियानसहित प्रतियोगिता सञ्चालन गरिनेछ। २४ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।
प्रतियोगितामा सेमिफाइनलमा पुग्ने टिमलाई नगद १५-१५ हजार रुपैयाँ, फियर प्ले टिमलाई ५ हजार रुपैयाँ र ट्रफी, उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र मेन अफ द म्याचलाई नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ।