पूजा र कविता एक्स्ट्राटेकको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

नेपाली महिला क्रिकेटकी राष्ट्रिय खेलाडी तथा यू– १९ की कप्तान पूजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्रान्ड एम्बेसडर बनेका छन् ।
निजी क्षेत्रबाट निर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले महतो र कुँवरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।

महतो र कुँवरसँग मैदानका सञ्चालक विनोद कुँवरले आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन मैदानमा एक कार्यक्रमबिच सम्झौता गरेका हुन्। कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक कुँवरले नेपाली महिला क्रिकेट खेलमा सानो भए पनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रित हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुवँरलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्ज्वल रहेको र युवा खेलाडीहरूले नियमित रूपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाँजोमा पुग्न सक्ने महसुस गर्दै सानो सहयोग गरेको बताएका छन् ।

निर्देशक कुँवरले खेलाडीहरूलाई खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरूको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताउँदै खेलाडीलाई खेलमा ध्यान केन्द्रित गर्ने अवस्था बनाउनु जरुरी रहेको धारणा राखेका थिए । उनले ब्रान्ड एम्बेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिबद्धता जनाउँदै आगामी दिन थप अरू खेलाडीहरूलाई समेटेर लैजाने योजना रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउँदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निजी लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निर्माण गरी ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीलाई लक्षित गरी गरिएको अर्को कामले नेपाली क्रिकेटमा उत्साह थपेको बताएका छन् ।

सो अवसरमा ब्रान्ड एम्बेसडर नियुक्त भएकी महिला क्रिकेट टिमकी सदस्य पूजा महतोले यू–१९ को टिम छनाेटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेलजीवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्बेसडर नियुक्तिले आफूलाई हौसला र खेलमा केन्द्रित हुने अवस्था निर्माण गरेको भन्दै खुसी व्यक्त गरिन् ।

महतोले यसले आफूलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेलजीवनमा धेरै सहयोग पुग्ने बताइन् । ‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तोखाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ,’ महतोले भनिन् ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले दुई महिला खेलाडीसँगको सम्झौताले क्रिकेटमा लाग्ने महिला खेलाडीलाई हौसला प्रदान गरेको बताएका थिए । कार्यक्रम सञ्चालन पत्रकार दीपेन्द्र कुँवरले गरेका थिए ।  एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यू– १९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

सुझावित समाचार