चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको समुपस्थितिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङबिच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा आज आयोजित कार्यक्रममा यो द्विपक्षीय सम्झौता भएको हो।
यो सम्झौताअन्तर्गत दुवै निकायले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छन्। विशेषगरी चलचित्रको माध्यमबाट लागुऔषधको दुष्प्रभावबारे जनचेतना फैलाउने योजना अघि सारेको छ। सम्झौताअनुसार लागुऔषधको प्रयोग तथा दुर्व्यसनलाई बढावा दिने खालका कुनै पनि चलचित्र, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गरिनेछ।
साथै, सम्झौतामा लागुऔषध नियन्त्रण तथा दुर्व्यसन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक चलचित्र तथा भिडियो सामग्री निर्माण तथा सिनेमा हलहरूमा प्रसारण गर्ने, विद्यालय तथा विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामुदायिकस्तरमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गरिने उल्लेख छ। सम्झौतामा लागुऔषध नियन्त्रणका लागि दुवै पक्षले एक–एक स्राेत व्यक्ति परिचालन गरी चलचित्र विकास बोर्ड र नेपाल प्रहरीको संयुक्त पहलमा लागुऔषध नियन्त्रण तथा दुर्व्यसन न्यूनीकरणका लागि थप रणनीति तय गरिने पनि बताइएको छ।
यस अवसरमा अध्यक्ष दिनेश डिसीले लागुऔषधविरुद्धको अभियानलगायत समाज परिवर्तनको कुराहरूलाई सशक्त रूपमा अघि बढाउन चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए ।