राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौँ बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ।
राजविराजपीडित संघर्ष समितिले सहर बन्द गरेको हो। औषधि पसलबाहेक सबै पसल बन्द गराएको संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बताए। आइतबार १ बजेसम्मका लागि बजार बन्द गराएको उनको भनाइ छ।
संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौँदेखि बसोबास गर्दै आएका पाँच हजार दुई सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन्।
यस्तै, राजविराज हटियामा निर्माणाधीन व्यावसायिक कम्प्लेक्सको निर्माणकार्य सम्पन्न गरी व्यवसायीलाई हस्तान्तरण गर्नुपर्ने, नयाँ बसपार्कको अधुरो निर्माणकार्य अविलम्ब पूरा गरी सञ्चालन, राज रंगशालाको स्तरोन्तरि, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी र राजविराज–कञ्चनपुर सडकखण्ड निर्माणकार्यमा देखिएको समस्याको समाधानलगायतका मागहरू सम्बोधन गर्नुपर्ने संघर्ष समितिले अघि सारेका छन् ।