मच्छिन्द्र फुटबल क्लब लगातार तेस्रोपटक केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक टोली केपी ओली एफसीविरुद्ध ४–० को एकतर्फी जित निकाल्यो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफन जमाह जालीले दुई तथा मनीष डाँगी र रोशन रानामगरले समान एक गोल गरेका थिए ।
पराजित केपी ओली टिमका प्रशिक्षक गणेश खड्काले योजनाअनुसार सफल नभएको बताए । उनले बलियो टोली मछिन्द्रविरुद्ध टिम ब्यालेन्स नै नभएको बताए । ‘बलियो मछिन्द्रविरुद्ध हामीले पाउने अवसर भनेकै एक–दुईपटक हो । त्यसमा हामी सफल भएनौँ ।’
मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले लगातार च्याम्पियन भएकाले दबाब नभएपछि सफल भएको बताए । ‘हामी साबिक विजेता हुँदा जित्नैपर्ने दबाब थियो । त्यसमा खेलाडीले राम्रो खेलेका छन् । लगातार खेल्दा खेलाडी थकित छन् । हामी उपाधि जित्न खेल्छौँ ।’
अब, अघिल्ला दुवै संस्करणको विजेता मच्छिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । आर्मीले संकटालाई शुक्रबार २–१ ले पराजित गर्दै पहिलोपटक फाइनलमा स्थान बनाएको हो । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले पाँच लाख रुपैयाँ पाउनेछन् ।
मनीषले दिलाए अग्रता
मछिन्द्रले राष्ट्रिय टिमका सदस्य मनीषको गोलबाट अग्रता बनायो । खेलको ३९औँ मिनेटमा रक्षक सनिस श्रेष्ठको क्रसलाई मनीषले पोस्टको दिशा दिए । रोशनले ५०औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका हुन् । सनिसको पासमा युसुफ मलिको प्रहारलाई गोलकिपर अभिषेक बरालले नियन्त्रणमा लिन नसक्दा प्राप्त रिबाउन्डलाई रोशनले सहजै जाली चुमाए । स्टेफनले ८५औँ मिनेटमा पेनाल्टीमार्फत मच्छिन्द्रका लागि तेस्रो गोल गरे ।
खेमराज श्रेष्ठले युसुफलाई बक्सभित्र लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ४–० को एकतर्फी जित दिलाए । उनले आयुश घलानको पासलाई सदुपयोग गरे । प्रतियोगताको फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउनेछन् ।