दुनियाँभरका टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबिच भएको संवाद :
जेडी भान्स : चार वर्षसम्म संयुक्त राज्य अमेरिकाका एक राष्ट्रपतिले पत्रकार सम्मेलनमा उभिएर भ्लादिमिर पुटिनविरुद्ध कठोर भाषा प्रयोग गरे । त्यसले पुटिनलाई युक्रेनमाथि आक्रमण गर्न रोकेन । उनले आक्रमणमार्फत युक्रेनको एक महत्वपूर्ण भाग ध्वस्त पारे । त्यसैले शान्ति स्थापना र समृद्धितर्फको यात्राका लागि सायद कूटनीतिमा संलग्न हुनुपर्छ । हामी जो बाइडेनको बाटो पनि हिँड्यौँ । त्यसवेला हामीले छाती ठोक्ने र अमेरिकाका राष्ट्रपतिको शब्द उनका कदमभन्दा बढी महत्वपूर्ण रहेको बहाना गरिरह्यौँ । अमेरिका राम्रो देश किन छ भने यो देश कूटनीतिमा संलग्न हुन्छ । राष्ट्रपति ट्रम्पले अहिले त्यही गर्न खोजेका हुन् ।
भोलोदिमिर जेलेन्स्की : उनले (पुटिनले) सन् २०१४ मा युक्रेनका विभिन्न भाग कब्जा गरे । त्यसवेला राष्ट्रपति ओबामा थिए । त्यसपछि राष्ट्रपति ट्रम्प भए । अनि राष्ट्रपति बाइडेन आए र अहिले पुनः राष्ट्रपति ट्रम्प फर्किएका छन् । उनले (ट्रम्पले) पुटिनलाई रोक्नेछन् । तर, सन् २०१४ मा उनलाई कसैले रोकेनन् । उनी विनाअवरोध भूमि कब्जा गरेर त्यसमाथि अधिकार जमाउन सफल भए । यस क्रममा मान्छे मारे । सन् २०१४ देखि २०२२ सम्म अवस्था उस्तै थियो– मानिसहरू सम्पर्क लाइनमा मरिरहेका थिए र कसैले पनि उनलाई रोकेनन् ।
हामीले उनीसँग धेरैपटक कुराकानी गर्यौँ । द्विपक्षीय कुराकानी पनि भए । सन् २०१९ मा राष्ट्रपति बनेपछि उनीसँग म्याक्रोन र मर्केलसँगै युद्धविराम सम्झौतामा हस्ताक्षर गरेँ । भन्न त मलाई सबैले यति गरे पनि उनले छाड्ने छैनन् भनेका थिए । हामीले ग्यास सम्झौतामा पनि हस्ताक्षर गर्यौँ । तर, यति सबैपछि पनि उनले युद्धविराम तोडे । उनले हाम्रा मानिसहरूलाई मारे । सम्झौताअनुरूप कैदीहरू आदानप्रदान गरेनन् । त्यसैले जेडी (भान्स) तपाईं कस्तो प्रकारको कूटनीतिको कुरा गर्दै हुनुहुन्छ ? तपाईंले भन्न खोजेको के हो ?
भान्स : म त्यस्तो कूटनीतिबारे कुरा गर्दै छु, जसले तपाईंको देशको विनाशलाई अन्त्य गर्नेछ । (जेलेन्स्की केही भन्न खोज्दै थिए, तर भान्स बोलिरहे) मिस्टर प्रेसिडेन्ट (जेलेन्स्की), म आदरका साथ भन्दै छु, तपाईंले यहाँ ओभल अफिसमा (ह्वाइट हाउसभित्रको अमेरिकी राष्ट्रपतिको कार्यालय) आएर अमेरिकी मिडियाको अगाडि यस विषयमा बयानबाजी गर्ने प्रयास गर्नु अनादरपूर्ण छ । अहिले, तपाईंहरू जनशक्तिको समस्या (अभाव) झेलिरहनुभएकाले देशभर गएर नयाँ भर्ती भएकालाई अग्रमोर्चामा लड्न बाध्य पार्दै हुनुहुन्छ । खासमा तपाईंले यो द्वन्द्वको अन्त्य गर्ने प्रयास गरेकोमा राष्ट्रपति (ट्रम्प)लाई धन्यवाद दिनुपर्छ ।
जेलेन्स्की : हाम्रा समस्या के हुन् भनेर हेर्न तपाईं कहिल्यै युक्रेनमा जानुभएको छ ? एकपटक आउनुस् ।
भान्स : यसबारे धेरै समाचार देखेको र हेरेको छु । त्यहाँ के भइरहेको छ भन्ने थाहा छ, तपाईं मानिसहरूलाई प्रोपागान्ड टुरमा लानुहुन्छ । के तपाईं आफ्नो सेनामा नयाँ भर्तीमा समस्या रहेकोमा असहमत हुनुहुन्छ ? अनि, जुन अमेरिकी राष्ट्रपतिले तपाईंको देशको विनाश रोक्ने प्रयास गरिरहेको छ, उनैको कार्यालयमा आएर उनैको प्रशासनविरुद्ध आक्रमण गर्नु सम्मानजनक काम हो जस्तो लाग्छ, तपाईंलाई ?
जेलेन्स्की : सर्वप्रथम, युद्धको समयमा सबैका समस्या हुन्छन् । तपाईंहरू पनि अछुतो हुनुहुन्न । तर, तपाईंसँग राम्रो समुद्र छ र अहिले (समस्या) महसुस गर्नुभएको छैन । तर, तपाईंले भविष्यमा यो महसुस गर्नुहुनेछ ।
डोनाल्ड ट्रम्प : त्यसबारे तपाईंलाई (केही) थाहा छैन ?
जेलेन्स्की : भगवान्को कृपाले, तपाईंहरूको युद्ध नहोस् ।
ट्रम्प : हामी के महसुस गर्नेछौँ भनेर नबताउनुस् । हामी त समस्या समाधान गर्न खोजिरहेका छौँ ।
जेलेन्स्की : मैले त्यसो भन्न खोजेको होइन । म त प्रश्नको जवाफ दिइरहेको थिएँ कि...
ट्रम्प : हामी के महसुस गर्नेछौँ भनेर तपाईं निर्देशन दिन सक्ने स्थितिमा हुनुहुन्न । हामी धेरै राम्रो महसुस गर्नेछौँ ।
जेलेन्स्की : तपाईं पनि प्रभावित महसुस गर्नुहुनेछ...
ट्रम्प : हामी धेरै राम्रो र सबल महसुस गर्नेछौँ । तपाईं अहिले धेरै राम्रो स्थितिमा हुनुहुन्न । यो अति खराब अवस्था आउन तपाईंले नै दिएको हो । तपाईंसँग अहिले हामीलाई लिएर त्यति विकल्प छैनन् । (जेलेन्स्की बोल्न प्रयास गर्छन्) तपाईं लाखौँ मानिसको जीवनसँग खेलबाड गरिरहनुभएको छ । तपाईं तेस्रो विश्वयुद्धको जोखिम उठाउँदै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्धको जोखिम उठाउँदै हुनुहुन्छ । तपाईं जे गर्दै हुनुहुन्छ, त्यो यस देशका लागि अन्त्यन्त अपमानजक छ । धेरै मानिसका अनुसार यो देशले तपाईंहरूलाई गर्नुपर्नेभन्दा धेरै साथ–सहयोग दिएको छ ।
भान्स : के तपाईंले (यस सहयोगका लागि) एकपटक पनि धन्यवाद भन्नुभयो ?
जेलेन्स्की : धेरैपटक (भनिसकेँ) ।
भान्स : होइन । यो सम्पूर्ण बैठक (अवधि)मा तपाईंले धन्यवाद भन्नुभयो ? तपाईं (गत वर्ष) अक्टोबरमा पेन्सिलभेनिया जानुभयो र विपक्षी (दल)को पक्षमा (चुनावी) प्रचार गर्नुभयो । संयुक्त राज्य अमेरिका र तपाईंको देश बचाउन प्रयास गर्ने राष्ट्रपति (ट्रम्प)का लागि आभारका केही शब्द व्यक्त त गर्नुहोस् ।
जेलेन्स्की : तपाईंलाई लाग्छ कि धेरै ठूलो स्वरमा बोल्दैमा...
ट्रम्प : उनी ठुलो स्वरमा बोलिरहेका छैनन् । तपाईंको देश ठुलो समस्यामा छ ।
जेलेन्स्की : मलाई थाहा छ । के म सोध्न सक्छु...
ट्रम्प : होइन, होइन, तपाईंले धेरै बोलिसक्नुभयो । तपाईंको देश ठुलो समस्यामा छ ।
जेलेन्स्की : मलाई थाहा छ ।
ट्रम्प : तपाईं यो (युद्ध) जित्नुहुन्न । हाम्रो कारणले तपाईंलाई अहिले सही–सलामत बाहिर निस्कने राम्रो मौका छ ।
जेलेन्स्की : मिस्टर प्रेसिडेन्ट, हामी हाम्रो देशमा डटेर टिकेका छौँ । युद्धको एकदम सुरुवातदेखि नै हामी एक्लै छौँ र हामी आभारी छौँ । म यो क्याबिनेटलाई धन्यवाद भन्छु ।
ट्रम्प : तपाईंलाई ती मूर्ख राष्ट्रपति (पूर्वराष्ट्रपति बाइडेनतर्फ संकेत गर्दै)मार्फत ३५० अर्ब डलर दियौँ । तपाईंलाई सैन्य उपकरण दियौँ । तपाईंका जनता बहादुर छन्, तर तिनले लड्न हाम्रो सैन्य उपकरण प्रयोग गरेका छन् । यदि तपाईंसँग हाम्रो सैन्य उपकरण नभएको भए, यो युद्ध दुई हप्तामा समाप्त भइसक्थ्यो ।
जेलेन्स्की : हो, तीन दिनमा । पुटिनले त्यस्तो भनेको मैले सुनेको थिएँ ।
ट्रम्प : यसरी लेनदेन गर्न धेरै गाह्रो हुनेछ ।
भान्स : एकपटक धन्यवाद त भन्नुस् ।
जेलेन्स्की : मैले धन्यवाद भनेँ– म अमेरिकी जनतालाई धन्यवाद भन्छु ।
भान्स : असहमति छन् भनेर स्वीकार गर्नुहोस् । यी अहसमतिमा छलफल गर्यौँ, आफू गलत हुँदा अमेरिकी मिडियामा लड्न छाडिदिनुस् । हामीलाई थाहा छ कि तपाईं गलत हुनुहुन्छ ।
ट्रम्प : हेर्नुहोस्, यहाँ जे भइरहेको छ त्यो अमेरिकी जनताले हेर्नु उचित हुन्छ भन्ने मलाई लाग्छ । मेरो विचारमा यो धेरै महत्वपूर्ण छ । त्यसैले मैले यो (बहस) यति लामो समयसम्म जारी राखेँ । तपाईं आभारी हुनुपर्छ । तपाईंको हातमा विकल्प छैनन् । तपाईं समस्यामा हुनुहुन्छ र तपाईंहरूको मान्छे मरिरहेका छन् । तपाईंहरूको सैनिक घट्दै गएको छ । सुन्नुस्, तपाईंहरूको सैनिक घट्दै गएको छ ।
अनि, तपाईं हामीलाई भन्नुहुन्छ कि ‘म युद्धविराम चाहन्नँ । म युद्धविराम चाहन्नँ ।’ यदि तपाईं अहिले नै युद्धविराम गर्न सक्नुहुन्छ भने म त तपाईंलाई भन्छु यसलाई स्वीकार गर्नुहोस् । ताकि गोलीबारी बन्द होस् र तपाईंका मानिस मारिन रोकियोस् ।
जेलेन्स्की : हो, अवश्य पनि युद्ध रोक्न चाहन्छु । तर, मैले तपाईंलाई भनेझैँ ग्यारेन्टीसहित (युद्ध रोक्न चाहन्छौँ) । युद्धविरामबारे हाम्रा मानिसलाई सोध्नुहोस्, तिनीहरू के सोच्छन् भनेर ।
ट्रम्प : त्यस्तो काम म गर्दिनँ । त्यो बाइडेन नामको मान्छेसँग हुन्थ्यो, जो चलाख मानिस होइनन् । अनि, ती ओबामा थिए, जसले तपाईंहरूलाई पाल दिएर टारे । मैले तपाईंहरूलाई ज्याभलिन (तोपलाई नष्ट गर्ने हातैमा बोक्न सकिने अमेरिकी प्रतिरक्षा प्रणाली, जसको युक्रेनलाई बिक्री ट्रम्पले अघिल्लो प्रशासनकालमा खुलाएका थिए) दिएँ । मैले तिनका तोपहरू नष्ट गर्न तपाईंलाई ज्याभलिन दिएँ । ओबामाले तपाईंलाई पाल दिएका थिए । हो, यसलाई यसरी भन्न सकिन्छ, ओबामाले पालहरू दिँदा ट्रम्पले ज्याभलिन दिए । तपाईं त झन् आभारी हुनुपर्छ । म तपाईंलाई भन्न चाहन्छु, तपाईंसँग विकल्प छैनन् । हामीसँग रहँदा तपाईंका विकल्प देखिन्छन्, तर हामीविना तपाईंसँग कुनै विकल्प छैनन् । यो सम्झौता गर्न कठिन हुनेछ, किनकि यसका लागि मनोवृत्ति परिवर्तन गर्नुपर्नेछ ।
(एजेन्सीकाे सहयाेगमा)