सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–५, मूलकोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठजना घाइते भएका छन्।
झापाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्रगतिका कारण अनियन्त्रित भई सडकछेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तिलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुरनिवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन्।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। सवारीचालक सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुरनिवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन्।
घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्रगतिमा रहेको र त्यसकै कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक काफ्लेले बताए। सवारीचालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।