साहित्य समाज रूपान्तरणको संवाहक हो : प्रदेश प्रमुख देवकोटा

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

कला र साहित्य समाज परिवर्तन र रूपान्तरणको संवाहकको रूपमा रहेको बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बताएका छन् । साहित्यमा लाग्ने व्यक्ति समाज र राष्ट्र हाँक्ने नायक बन्न सक्ने भन्दै बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले धादिङबेँसीमा आयोजना गरेको बागमती साहित्य महोत्सव २०८१ को उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख देवकोटाले कला र साहित्य समाज परिवर्तन र रूपान्तरणको मुहान रहेकोे बताएका हुन् । 

‘सडकका टायर चक्काजाम जिन्दावाद र मुर्दावादका पक्षहरूलाई परिवर्तनका संवाहक ठानेर अग्रगामी परिवर्तनमा स्वर र कमल चलाउने कला साहित्यलाई सम्मान गर्नुपर्छ । साहित्य र कला परिवर्तनका संवाहक हुन्,’ उनले भने, ‘साहित्य लेखन मात्र नभएर भावना, संवेदना र परिवर्तनको मुहान हो । तर, लेखन विधा लोप हुँदै गएको छ । नयाँ पिँढीहरू ल्यापटप र मोबाइलमा मात्र सीमित हुन थालेका छन् । उनीहरूलाई जागरुक बनाउनुपर्छ । मानव समाजको ऐना कला र साहित्यको विकास, संरक्षण र प्रवर्द्धन गर्न बागमती सरकार निरन्तर लाग्नेछ ।’ 

‘साहित्य मानव मस्तिष्कको उपज हो । जसले कला संस्कृति, मूल्य मान्यता र सभ्यतालाई छर्लंग पार्दछ । साहित्य प्रेम र करुणा मात्र नभएर न्याय, चेतना, परिवर्तन र रूपान्तरणको उत्प्रेरणा पनि हो,’ उनले भने, ‘कला र साहित्य खुसी र समृद्धि जीवनको आधार हो । साहित्यले मानवबिचको द्वन्द्व हटाएर मानवता, एकता र सौहार्दताको बीजारोपण गर्दै सभ्य समाजको निर्माण गर्दछ ।’ 

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल मर्मका साथ शुक्रबारबाट बागमती साहित्य महोत्सव सुरु भएको हो । महोत्सवमा सहआयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिकाको विशेष सहयोग रहेको छ । 

त्यस्तै, समाजलाई सही दिशातर्फ डोर्याउन साहित्यको भूमिका महत्त्वपूर्ण रहने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् । ‘साहित्य समाजको आँखा हो । साहित्यले जीवन र जगतलाई विवेक दिन्छ,’ मन्त्री अधिकारीले भने,’ साहित्य नै जीवनको कलात्मक अभिव्यक्ति हो ।’ 

त्यस्तै, नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले समाजमा देखापर्ने घटनाहरूलाई समेटेर अभिव्यक्त गर्ने माध्यम नै साहित्य रहेकोले सभ्य समाज निर्माणमा साहित्यको भूमिका महत्त्वपूर्ण रहेको बताए । 

‘साहित्य समाजको दर्पण हो । साहित्यले समाजका विकृति र विसंगतिलाई शब्दमा समेटेर जनमानससमक्ष पुर्याउने काम गर्छ। साहित्यले समाजलाई खबरदारी गराउँछ। अनि यही साहित्यमा लागेपछि समाजलाई राम्ररी निहालेर हेर्न पाइन्छ’ उनले भने । 

महोत्सव उद्घाटनका दिन शुक्रबार नेवाः, मगर, गुरुङ, तामाङ, चेपाङ समुदायका संस्कृति झल्किने झाँकी, पन्चैबाजासहितको र्याली गरी सुरु गरिएको हो । महोत्सवमा विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षणलगायतका गतिविधि रहने महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले बताए । 

सुझावित समाचार