अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली युनियन (इयु) को जन्म अमेरिकालाई ‘ठग्न’ भएको दाबी गरेका छन् ।
‘युरोपेली युनियन (इयु)को गठन संयुक्त राज्य अमेरिकालाई ठग्न बनेको हो । यसको उद्देश्य यही हो र उनीहरूले यो काम राम्ररी गरिरहेका छन् । तर, अब म राष्ट्रपति भएको छु । यो काम चल्नेछैन,’ ट्रम्पले भने ।
ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताउँदै त्यसमा युरोपेली संघ पनि समावेश हुने बताए । ‘हामीले युरोपेली संघमाथि पनि कर वृद्धिसम्बन्धी एउटा निर्णय गरेका छौँ । यो २५ प्रतिशत हुनेछ र यो हामी चाँडै नै घोषणा गर्नेछौँ,’ ट्रम्पले पत्रकारसँगको कुराकानीमा भने ।
युरोपेली आयोगले ट्रम्पको उक्त भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिएको छ । ‘युरोपेली संघ विश्वको सबैभन्दा ठुलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान सावित भएको छ,’ युरोपेली आयोगको एक स्रोतले बुधबार जनाएको छ ।
स्रोतका अनुसार इयुले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तत्कालै’ प्रतिक्रिया दिनेछ । हालैका साता अमेरिकी सरकारले युरोपेली आयातमाथि उच्च भन्सार कर लगाउने प्रतिज्ञा दोहोर्याइरहेको छ ।