सन् १९४७ : ताइबानमा उठेको विद्रोहलाई च्याङ काइ सेक र उनको कोमिङताङ पार्टीले क्रूरतापूर्वक दबाउँदा १८ हजारदेखि २८ हजारबिच मानिस मारिए ।
इसापूर्व २०२ : चीनमा किसान विद्रोही नेता लिउ ब्याङ औपचारिक रूपमा सम्राट् घोषित भए । सम्राट् बनेपछि गाओजु नाम दिइएका लिउको राज्याभिषेकसँगै चीनमा छिङ वंशको अन्त्य र हान वंशको जग बस्यो । चीनका सबैभन्दा महान् सम्राट्मध्ये एक मानिने गाओजुको शासनलाई स्वर्ण युगका नामले चिनिन्छ ।
सन् १८०४ : फ्रान्सेली सेनाका जनरल तथा राजावादी चाल्र्स पिचेरु नेपोलियनलाई सत्ताच्युत गर्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परे ।
सन् १८५९ : पोप क्लेमेन्ट तेह्रौँले बाइबललाई क्याथोलिक देशमा ल्याटिन भाषाबाट स्थानीय भाषामा अनुवाद गर्ने अनुमति दिए ।
सन् १९०९ : अमेरिकामा पहिलोपटक राष्ट्रिय महिला दिवस मनाइयो । सोसलिस्ट पार्टी अफ अमेरिकाले अघिल्लो वर्ष न्युयोर्कमा गार्मेन्ट उद्योगमा काम गर्ने महिला श्रमिकले कार्य क्षेत्रको सुधारका लागि गरेको आन्दोलनको सम्मानमा यो दिवस मनाएको थियो ।
सन् १९२२ : बेलायतले इजिप्टको स्वतन्त्रताको एकतर्फी घोषणा गर्यो । कागजी रूपमा यसले इजिप्टको संरक्षित राज्यको स्तर अन्त्य गर्दै देशलाई स्वतन्त्रता दिएको थियो, तर व्यवहारमा सेना र कूटनीतिक विषय अझै बेलायतकै हातमा थियो ।
सन् १९३३ : संसद्मा आगजनी भएको एक दिनपछि नै हिटलरले संकटकालीन अधिकार दिने ‘राइसट्याग आगजनी विधेयक’ पारित गरे ।
सन् १९५३ : फ्रान्सिस क्रिक र जेम्स वाट्सनले डिएनए अणुको रासायनिक संरचना पत्ता लगाएको घोषणा गरे । तिनले यस आविष्कारका लागि रासालिन्ड फ्य्रांकलिन र मोरिस विलकिन्सको तथ्यांक प्रयोग गरेका थिए ।
सन् १९८६ : युरोपेली आर्थिक समुदाय (इइसी)ले एकल युरोपेली विधेयकमा हस्ताक्षर गरेर एकल युरोपेली बजारको मार्ग खोल्यो । यसलाई हालको युरोपेली आयोग निर्माणतर्फको प्रमुख कदम मानिन्छ ।