फेरि सर्‍यो दसौँ राष्ट्रिय खेलकुद

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण
  • गत मंसिर पहिलो साताका लागि तय प्रतियोगिता गर्न नसकेपछि राखेपले यसअघिको मिति सार्दै २३ देखि ३० चैतसम्म आयोजना गर्ने निर्णय गरेको थियो, तर बिहीबारको बैठकले यो मिति पनि सार्दै ३ देखि १० जेठ ०८२ सम्म सुर्खेतमै गर्ने निर्णय गरेको छ

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलको मिति सारेको हो । जसअनुसार ३–१० जेठ ०८२ मा प्रतियोगिता हुने राखेपले जनाएको छ । 

०७९ कात्तिकमा राखेपले नै कर्णालीको सुर्खेतमा २–९ मंसिर ०८१ मा प्रतियोगिता मिति सार्वजनिक गरेको थियो । तर, खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङबिचको आपसी टकरावका कारण प्रतियोगिता हुन सकेन । गत मंसिरमा राखेपको ११८औँ बैठकले २३–३० चैत ०८१ मा प्रतियोगिता गर्ने निर्णय गर्यो । राखेपले मंसिरमा पूर्वाधार र तयारी अभावका कारण प्रतियोगिता आयोजना गर्न नसकिएको जनाएको थियो । 

यद्यपि, आयोजक कर्णाली प्रदेशले प्रतियोगिताको सबै तयारी पूरा गरिसकेको थियो । अर्थ मन्त्रालयले राष्ट्रिय खेलकुद आयोजना गर्न ६० करोड बजेट निकासासमेत गरेको छ । कर्णालीले ०७९ कात्तिकमा पोखरामा भएको नवौँ संस्करणको समापनमा दसौँ राष्ट्रिय प्रतियोगिता आयोजनाको झन्डा बोकेको थियो । पहिलोपटक आयोजक बनेको कर्णालीले प्रतियोगिताका लागि भौतिक पूर्वाधार तयार गरिसकेको छ । 

कर्णाली प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न दुई अर्बको पूर्वाधार लगानी गरेको छ । यसपटक मिति सार्नुको पछाडि अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा नगर्नु र कटौती गरेको हुँदा नयाँ मिति तय गर्नुपरेको राखेपले जनाएको छ । राखेपका सदस्यसचिव घिसिङले अर्थ मन्त्रालयका कारण प्रतियोगिताको मिति सरेको बताए ।

‘यसपटक अर्थ मन्त्रालयका कारण मिति सारिएको हो,’ उनले भने । दसौँ राष्ट्रिय खेलकुदको कार्यविधिसमेत पारित नभएपछि अर्थ मन्त्रालयले २५ प्रतिशत बजेट कटौती गरेको राखेप स्रोतले बताएका छन् । ‘कार्यविधि समयमै पारित नहुँदा अर्थ मन्त्रालयले प्रतियोगिताका लागि निकासा भएको कुल बजेटको २५ प्रतिशत कटौती गरेको छ, यसले आयोजना गर्न समस्या भएको हो,’ उनले भने । 

बैठकमा ६ प्रदेशका सदस्यसचिव गएनन्
खेलकुद मन्त्रालयले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे महत्वपूर्ण निर्णय गर्न ६ प्रदेशका सदस्यसचिवलाई बैठकमा अनिवार्य उपस्थितिका लागि बोलाएको थियो, तर उनीहरू सहभागी भएनन् । मन्त्रालयले राष्ट्रिय खेलकुदको मिति सारिरहँदा ती सदस्यसचिवले असहमति जनाएका थिए । यसपटक पनि प्रतियोगिताको नयाँ मिति घोषणा हुने भनिएपछि उनीहरूले बैठक बहिष्कार गरेको सहभागी एक सदस्यले बताए । 

‘मन्त्रालयले प्रतियोगिताको मिति सार्ने विषयमा बैठक बोलाएपछि उहाँहरू आउनुभएन,’ ती सदस्यले भने, ‘प्रदेशका सदस्यसचिवहरूले स्पष्ट रूपमा मिति सार्नुको कारण माग गर्नुभएको छ, तर यसको जवाफ कसैसँग छैन ।’ मन्त्रालय र राखेपले चैतको अन्तिम सातामा प्रतियोगिता गर्ने भनी सम्बन्धित प्रदेशका खेलकुद परिषद्लाई पत्र पठाएका थिए । ती प्रदेशले पनि प्रतियोगिताका लागि छनोट आयोजना सुरु गरेका थिए । 

धनगढीमा यसको विधिवत् रूपमा छनोट प्रतियोगिता नै आयोजना भएको थियो । धेरैजसो प्रदेशले खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राखेका छन् । मन्त्रालय र राखेपले एउटै एजेन्डामा पटक–पटक बैठक बोलाउँदा पनि प्रदेशका सदस्यसचिवहरू सहभागी नभएका हुन् । बागमती प्रदेशले प्रतियोगितामा सहभागिता जनाउन खेलाडी छनोटदेखि क्लोज क्याम्पमा राख्न बजेटसमेत निकासा गरेको छ । 

एनओसीको निर्वाचनमा सहभागी ६ संघ निलम्बनमा
बैठकले नेपाल ओलम्पिक कमिटी (एनओसी) निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गरेको छ । सर्वोच्च अदालत तथा सरकारको निर्देशन पालना नगरी एनओसीले गत १३ पुसमा अनलाइनबाट निर्वाचन गरेको थियो । निर्वाचनबाट जीवनराम श्रेष्ठ लगातार तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए । श्रेष्ठले आफू तेस्रोपटक अध्यक्ष बन्न विधानसमेत परिवर्तन गरेका थिए । यसअघि २०११ को एनओसी विधानमा लगातार तीनपटक अध्यक्ष र महासचिव बन्न नपाउने उल्लेख थियो । 

विधान परिवर्तनपछि भएको निर्वाचनमा नेपाल 
ब्याडमिन्टन संघ, टेनिस, साइक्लिङ, नेपाल एथलेटिक्स, जिम्न्यास्टिक र भारोत्तोलनले भाग लिएका थिए । राखेप कार्यकारी समितिको बुधबार बसेको बैठकले ६ खेल संघलाई कारबाही सिफारिस गरेको थियो । बोर्ड बैठकले कार्यकारी समितिको सिफारिसलाई अनुमोदन गरेको राखेपले जनाएको छ । 

राखेपमा दर्ता भएको संघमा एथलेटिक्स पहिलो हो । यस संघले नवीकरणसमेत गरेको छैन । निलम्बनमा परेको जिम्न्यास्ट्रिक राखेपमा १४ नम्बरमा दर्ता भएको संघ हो । यसैगरी, राखेपमा टेनिस संघको दर्ता नम्बर ६ रहेको छ । यो संघको नवीकरण भएको छैन । भारोत्तोलन संघ राखेपमा १२ नम्बरमा दर्ता छ ।
 

See More On

सुझावित समाचार