सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाहीले शीर्ष स्थानमा १ स्ट्रोकको अग्रता लिएका छन् । उनले बिहीबार समग्रमा १३ अन्डर २०३ को स्कोर गरे । उनी दोस्रो स्थानमा रहेका नीरज तामाङभन्दा १ स्ट्रोकले अगाडि छन् । नीरजले समग्रमा १२ अन्डर २०४ स्कोर गरेका छन् ।
अन्तिम १८ होलको खेल बाकी छँदा उनले तोरणमाथि दबाब बनाएका छन् । दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले समग्रमा ६ अन्डर २१० स्कोर गरी संयुक्त रूपमा तेस्रो स्थान रक्षा गरेका छन् ।
लगातार तेस्रो दिन पनि शीर्ष स्थानमा रहेका तोरणले फ्रन्ट नाइन २ अन्डर ३४ स्कोर गरे । उनले ब्याक नाइनमा ११औँ र १२औँ होलमा समान एक सट बचाएका थिए । दुई बोगी सामना गरेका उनले ब्याक नाइन इभन पार खेल्दै ३६ स्कोर गरे । नीरजले फ्रन्ट नाइन १ ओभर ३७ स्कोर गर्ने क्रममा पाँचौँ र सातौँ होलमा बोगी प्रहार गरे । उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५ अन्डर ३१ स्कोर गरेका थिए । १२औँ, १५औँ र १६औँ होलमा बर्डी प्रहार गरेका थिए ।
एमेच्योर गल्फर राहुलले तेस्रो र सातौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १ अन्डर ३५ स्कोर गरे । ब्याक नाइनमा उनी ५ अन्डर ३१ स्कोरमा रोकिए । सदभावले फ्रन्ट नाइन ४ अन्डर ३२ र ब्याक नाइनमा २ अन्डर ३४ स्कोेर गरेका थिए ।