सुन तस्करीको आरोपमा बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका उज्वेकिस्तानका नागरिक यसअघि १० पटक नेपाल भ्रमणमा आएको खुलेको छ । दुबई हुँदै नेपाल आएका ४१ वर्षीय तुरसुनोभ सानदोर सुन तस्करीकै लागि यसरी पटक–पटक आएको आशंका प्रहरीको छ ।
बुधबार प्रहरीले तीन महिला र एक पुरुषलाई तीन किलो ७४५ ग्राम सुनसहित पक्राउ गरेको थियो । पक्राउ परेका सानदोर यसअघि १० पटकसम्म नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनीसँग सुन बरामद भने भएको छैन । उनीसँगै आएका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा र ५४ वर्षीया मारिफालिभा दिलफुजालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूसँग तीन केजी ७४५ ग्राम सुन बरामद भएको छ । मलद्वारमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए। भन्सारको चेकजाँच कटिसकेपछि प्रहरीले शंका लागी पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरूसँग सुन भेटिएको हो ।
पर्यटक भिसामा नेपाल आएका उनीहरूको मुख्य उद्देश्य सुन तस्करी नै भएको प्रहरी दाबी छ । पक्राउ परेका सानदोरले नै सबै खर्च गरेर उनीहरूलाई नेपाल ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले नेपालमा ल्याएर कसलाई सुन दिन्थे भन्ने खुल्न सकेको छैन । दुबईमा बसेर उनले नेपालमा सुन तस्करी गराउँदै आएको प्रहरी आशंका छ ।
थप अनुसन्धानका लागि चारैजनालाई भन्सार कार्यालय पठाइएको एसएसपी राठौरले बताए।