महोत्तरीको औरही नगरपालिका– २ मा सञ्चालनमा रहेको ब्ल्याक एन्ड ह्वाइट डान्सबारबाट प्रहरीले आठ महिला र तीन पुरुष गरी ११ डान्सरसहितका कर्मचारीलाई नियन्त्रणमा लिएको छ । गत सोमबार राति करिब १० बजे प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पटकपटक झैझगडा तथा कुटपिटका घटना हुने गरेको तथा डान्सबार सञ्चालनका लागि स्थानीय तहसँग अनुमतिसमेत नलिएको र समाजमा विकृतिसमेत फैलाइरहेको गुनासो बढेपछि प्रहरी एक्सनमा आउँदै डान्सबारमा छापा हानी डान्सर र कर्मचारी नियन्त्रणमा लिएर उनीहरूमाथि अभद्र व्यवहार मुद्दा चलाएको हो ।
डान्सबारबाट प्रहरीले नियन्त्रणमा लिएका युवतीहरू १९ वर्षदेखि २५–२६ वर्षका छन् । उनीहरू सिन्धुली, मकवानपुर र काठमाडौंलगायतका विभिन्न जिल्लाका हुन् । स्थानीयले मानव तस्करीकै समेत आशंका रहेको बताउँदै बार सञ्चालक र ती युवतीलाई महोत्तरीको एक ग्रामीण भेगसम्म पुर्याउने व्यक्तिहरूसमेतमाथि अनुसन्धान हुनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तलालप्रसाद जयसवारले प्रहरीले अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिई अनुसन्धान थालेको बताए । उनले सञ्चालन अनुमतिलगायतका कागजातको खोजी र त्यहाँ हुने गतिविधिबारे अनुसन्धान भइरहेको बताए ।
कुनै वेला धनुषाको ढल्केबरमा सञ्चालित सो डान्सबार पछिल्लो समय बर्दीबासमा सञ्चालनमा रहेकोमा बर्दीबासमा डान्सबार हटाउनुपर्ने जनदबाब बढेपछि केही समय पूर्व डान्सबार औरही सरेको हो ।
प्रायः व्यवस्थित सहरी क्षेत्रमा हुने डान्सबार ग्रामीण क्षेत्रमा हुँदा यसले मनोरञ्जनभन्दा पनि विकृति ल्याउने हुनाले मधेशको ग्रामीण भेगमा डान्सबार सुहाउँदो नभएको स्थानीयको भनाइ छ । पछिल्लो समय डान्सबार, मसाज सेन्टर आदिको आवरणमा देहव्यापारका घटनाहरू सार्वजनिक भइरहेको वेला महोत्तरीको औरहीमा सञ्चालित सो डान्सबारलाई समेत सन्देहको दृष्टिले हेर्न थालिएको छ ।
तथापि, उक्त डान्सबारमा समेत त्यसतो गतिविधि भएको हो वा होइन भन्ने प्रहरी अनुसन्धानले पुष्टि गर्ने स्थानीय बताउँछन् । डान्सबार आफैँमा खराब नभई यसले मनोरञ्जन दिने भएकाले डान्सबार सञ्चालन अपराध नै नभए पनि सामाजिक बनोट, ठाउँको आवश्यकता, सञ्चालन अनुमतिलगायतका विषय ख्याल गरेर मात्र यस्ता व्यवसाय सञ्चालन हुनुपर्ने नागरिक समाजका अगुवाहरू बताउँछन् ।