माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको दक्षिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको समस्यालाई राष्ट्रिय मुद्दाका रूपमा स्थापित गराउने बताएका छन् ।
हुलाकी मार्गकेन्द्रित तराई मधेश जनजागरण अभियानका क्रममा सुनसरी पुगेका अध्यक्ष प्रचण्डले बिहीबार बिहान बर्जु गाउँपालिकामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अभियानले दक्षिण क्षेत्रमा बस्ने आमनागरिकका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका हुन् ।
देशको सिमानाको सुरक्षा गरेर सदियौँदेखि बस्दै आएका दक्षिण क्षेत्रका नागरिकहरूलाई राज्यले अझै पनि विभेद गर्दै आएकाले नै विकासमा पछाडि परिरहन बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले यो समस्यालाई राष्ट्रिय मुद्दा बनाएर संघर्षमार्फत स्थापित गराउन तराई मधेश जागरण अभियान थालिएको पनि प्रस्ट पारे ।
प्रचण्डले बर्जुवासीलाई सम्बाेधन गर्दै भने, ‘वर्षौँदेखि भइरहेको विभेदविरुद्ध माओवादीले जागरण अभियानमार्फत संघर्षको झन्डा उठाएको हो, यसले तपाईं दक्षिण क्षेत्रमा बस्दै आउनुभएका बासिन्दाहरूको मुद्दालाई राष्ट्रिय रूपमा स्थापित गराएरै छाड्छ ।’
झापादेखि मोरङ हुँदै दक्षिण क्षेत्र भएर सुनसरी आइपुग्दा आफूले जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको अनुभव गरेको भन्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार निर्माण, कृषकका समस्या, सीमा सुरक्षा र शिक्षा र स्वास्थ्य आदि विकासका लागि राज्यको ध्यानाकर्षण गराउन माओवादी सशक्त रूपमा लागिपर्ने बताए ।
१२ फागुनमा झापाको केचनाकवलमा उद्घाटन गरेर अगाडि बढेको अध्यक्ष प्रचण्डसहितको तराई मधेश जनजागरण अभियान टोली बिहीबार दिनभरि सुनसरीका विभिन्न स्थानमा हुने भेटघाट र आमसभामा सक्रिय रहनेछ ।