हेटौँडामा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ६ रामनगरका ६१ वर्षीय कमलबहादुर बोहरा रहेका छन् ।
उनको उपचारको क्रममा चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई हिजो साँझ ना.५४प १८७६ नम्बरको मोटरसाइकलले हेटौँडा- ६ सल्लाघारीस्थित भित्री सडकखण्ड रामनगरबाट हात्तीलेटतर्फ आउँदै गर्दा ठक्कर दिएर घाइते बनाएको थियो ।
मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बोहरालाई हेटौँडा अस्पताल ल्याई सामान्य उपचारपछि भरतपुर रिफर गरिएको थियो । ठक्कर दिने मोटरसाइकलचालक हेटौँडा- ६ हात्तीलेटका ४२ वर्षीय विदुर सापकोटा फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।