भद्रपुर झापा गोल्डकप उपाधि भिडन्तमा दुई झापाली टोली

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ र आयोजक भद्रपुर ब्लेजर्सबिच शुक्रबार उपाधि भिडन्त

भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त दुई झापाली क्लबबिच पक्का भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ फुटबल क्लबले भुटानको डागा युनाइटेडविरुद्ध ३–१ को सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो । यस नतिजासँगै शुक्रबार हुने फाइनलमा झापा ११ ले अर्को झापाली क्लब आयोजक भद्रपुर ब्लेजर्सको सामना गर्नेछ ।

मेची रंगशालामा झापा ११ लाई अन्तिम दुईमा स्थान पक्का गराउने क्रममा एरोन थापा, रोहन कार्की र हरिबहादुर आलेमगरले समान एक गोल गरे । डागा युनाइटेडका सुरज रसाइलीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुवातमै झापा ११ ले फ्रिकिकमा अग्रता लियो । खेलको ५५औँ मिनेटमा डागा युनाइटेडका सुरज रसाइलीले झापा ११ का एरोनलाई पोस्टको ३५ यार्डमा लडाएका थिए । प्राप्त सीधा फ्रिकिकमा एरोनले उत्कृष्ट गोल गरे । उनले प्रहार गरेको फ्रिकिक विपक्षी गोलरक्षक फुन्सो जिग्मेले ‘ग्रिप’मा लिन नसक्दा गोल भयो । 

पाँच मिनेटभित्र दुई गोल 
खेलको ८३औँ मिनेटमा डागा युनाइटेडले १–१ को बराबरी गर्यो । काउन्टर अट्याक्टमा डागा युनाइटेडका सुरजले दुईजना डिफेन्डरलाई बिट गर्र्दै डिबक्सभित्रबाट पहिलो बारमा गोल गर्दै टोलीलाई बराबरीमा पुर्याए । खेलको अन्तिम पाँच मिनेटको इन्जुरी समयमा सम्हालिन नसक्दा डागा युनाइटेड सेमिफाइनलबाटै बाहिरियो । डागा युनाइटेडले एकैसाथ भद्रपुर झापा गोल्डकप र केपी ओली कपमा नै सहभागिता जनाएको छ । डागा युनाइटेडको ‘ए’ टोलीले केपी ओली कपमा प्रतिस्पर्धा गरेको थियो । 

झापामा भने ‘बी’ टोलीलाई प्रतिस्पर्धा गराएको प्रशिक्षक दोर्जी खान्दुले बताए । जसकारण अपेक्षकृत प्रदर्शन नभएको उनले बताए । झापा ११ ले चर्च ब्वाइजका समीर तामाङ र रोहन कार्कीलाई खेलाएको छ । झापा ११ अन्तिम इन्जुरी समयमा दुई गोल गर्दै उपाधिनजिक पुग्यो । एलोनको क्रसमा डिबक्सबाट रोहन कार्कीले फस्र्ट टचमै गोल गरे । त्यसपछि समीर तामाङको क्रसमा हरिबहादुरले झापा ११ लाई ३–१ को जित दिलाए । डागा युनाइटेडले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गुमाउन पुग्यो । 

थप गोल हुनुपर्ने थियो : सन्तोष गुरुङ, सहायक प्रशिक्षक, झापा
टोलीका खेलाडीको मनोबल उच्च छ । ‘बी’ डिभिजन लिगको तयारी गरिरहेका छौँ । प्रतियोगितामा लिग विजेता र उपविजेता मच्छिन्द्रलाई हराएपछि आत्मविश्वास बढेको हो । काउन्टरमा थप गोल हुन सक्थ्यो । सिनियर खेलाडी समीर र रोहनको आगमनले खेल्न थप सहज भएको छ । सेमिफाइनलदेखि मात्र केही परिवर्तन गरेका हौँ ।

गोलरक्षक र डिफेन्समा तालमेल मिलेन : दोर्जी खान्दु, प्रशिक्षक, डागा युनाइटेड 
केपी ओली कपमा खेलेको ‘ए’ टोली हो । झापामा प्रतिस्पर्धा गरिरहेको टोली ‘बी’ हो । एउटा गोल प्रयास गोललाइनभित्र थियो, तर रेफ्रीले मान्यता दिएनन् । यहाँ रिभ्युको प्रविधि छैन । त्यो गोल भएको भए खेलाडीमा जोस पनि आउने थियो । प्रतिस्पर्धामा डिफेन्स र गोलरक्षकबिच तालमेल नमिल्दा समस्या भयो ।

सुझावित समाचार