घरको छतमा बसेर पनि आइपिएल हेर्न सकिने

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

१८औँ इन्डियन प्रिमियर लिग (आइपिएल) २१ मार्चदेखि २५ मेसम्म भारतका विभिन्न सहरमा चल्नेछ । प्रतियोगिताको उद्घाटन र फाइनल कोलकाताको इडेन गार्डेनमा हुनेछ । १० फ्रेन्चाइज टोलीबिच हुने विश्वकै चर्चित तथा महँगो टी–२० फ्रेन्चाइज लिगमा यसपटक दर्शकले नयाँ अनुभव प्राप्त गर्नेछन् । रंगशालाको टिकट नपाउने दर्शकले अब आवासीय भवनको छतमा बसेर आइपिएल हेर्न मिल्ने योजना भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले तयार गरेको छ । 

आइपिएल खेल खेलाइने राजस्थानको जयपुरस्थित मानसिंह रंगशालामा यस्तो सुविधा पाइनेछ । जयपुर क्रिकेट संघले रंगशालाको टिकट नपाउने दर्शकलाई भवनको छतमा बसेर आइपिएल हेर्न मिल्ने सुविधा दिन लागेको हो । क्रिकेट संघले रंगशालाको दक्षिणी मोहोडा पछाडिका घरको छतमा दर्शक राख्ने योजना बनाएको हो । 

घरको छतमा राखिने दर्शक संख्याबारे निर्णय भएको छैन । छतको क्षमताअनुसार मात्रै संख्याबारे निर्णय हुने जनाइएको छ । ‘अहिले दर्शक संख्याबारे निर्णय भएको छैन, उनीहरूको सुरक्षा पनि हेर्नुपर्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फेरि प्रस्तावित भवनको क्षमता भारले पनि निर्भर गर्छ ।’ पहिलो संस्करणको विजेता राजस्थानले दर्शकलाई फरक अनुभव दिलाउन यस्तो योजना ल्याएको जयपुर क्रिकेट एसोसिएसनका सचिव नीरजकुमार पवनले बताए । यसअघिका आइपिएलमा रंगशालानजिक घरको छतमा बसेर दर्शकले खेल हेर्ने गरेका थिए । त्यसवेला टिकटको व्यवस्था थिएन । यसपटक आर्थिक पक्ष बलियो बनाउने उद्देश्यले जयपुर क्रिकेट संघले नौलो जुक्ति निकालेको एजेन्सीले जनाएको छ । 

पवनले आफूहरूको मुख्य रंगशालाको क्षमता कम भएकाले आवासीय भवनहरूको छतबाट हेर्न मिल्ने सुविधा प्रदान गर्न लागिएको बताए । ‘हाम्रो रंगशालाको क्षमता ५० हजार हो, दर्शक धेरै हुँदा भवनको छतबाट आइपिएल खेल हेर्न सक्ने नीति बनाएका हौँ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेका छौँ, प्रदेश सरकार र बिसिसिआईले समेत स्वीकृति प्रदान गरेका छन् ।’ 

गत वर्ष पनि प्रयोग
हरेक संस्करणमा राजस्थानको खेल हुँदा भवनहरूको छत भरिएको हुन्थ्यो । दर्शकले कुनै सुरक्षा अपनाएका हुँदैनथे । यद्यपि, अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । यसपटक व्यवस्थित रूपमा छतमा दर्शक राख्ने योजनाअनुसारै क्रिकेट एसोसिएसन लागेको छ । यसैबिच, राजस्थानको घरेलु रंगशालापरिसरमा क्रिकेटबाहेक अन्य खेलका खेडालीलाई पार्किङमा प्रतिबन्ध लगाएको छ । 

‘पछिल्लो संस्करणमा पार्किङमा समस्या थियो, क्रिकेटबाहेका अन्य खेलका खेलाडी तथा अफिसियलले पार्किङ गरेका कारण हामीले ‘स्पेस’ पाएनौँ,’ पवनले भने । प्रान्त सरकार र बिसिसिआईले मानसिंह रंगशालाको दक्षिण पारापिटपारिको भवनमा दर्शकले निश्चित रकम तिरेर आइपिएल हेर्न अनुमति दिँदा नगरपालिकाले भने दिएको छैन । नगरपालिकाका अनुसार मानसिंह रंगशालाको वार्षिक कर चुक्ता छैन । ‘वर्षौँदेखि बाँकी कर चुक्ता नभएसम्म अनुमति दिइनेछैन,’ नगरपालिकाले भनेको छ, ‘आवासीय भवनका छतमा दर्शक राख्ने भनिएको छ, सबै मापदण्ड पूरा हुनुपर्छ, साथसाथै भवनको भार वहनको रिपोर्ट आइसकेको छैन ।’

See More On

सुझावित समाचार