नेपाल १३ पटक फाइनलमा पराजित, म्यानमार च्याम्पियन

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण
नेपाल १३ पटक फाइनलमा पराजित, म्यानमार च्याम्पियन

फाइल तस्बिर

लगातार १३ पटक फाइनलमा स्थान बनाएर पनि नेपाल उपाधिविहीन भएको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाललाई २–० ले पराजित गर्दै म्यानमार च्याम्पियन बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा दुई गोल भएको थियो।

यसअघि समूह चरणको भेटमा दुई टिमले २–२ को बराबरी खेलेका थिए। त्यसअघि नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० ले हराएको थियो। म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराउँदै समूह विजेता बन्दै फाइनलमा स्थान बनाएको थियो।

खेलको ६२औँ मिनेटमा यू फर खिनले गोल गर्दै म्यानमारलाई अग्रता दिलाइन्। लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’लाई नेपाली टिमकी गोलकिपर अन्जिला र डिफेन्डरले ठम्याउन सकेनन्।

त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो। ६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन्। डिफेन्सले गल्ती गरेपछि पाएको बललाई तुङले प्रहार गरेकी थिइन्। तर, गोलकिपर अन्जिलाले सो बललाई रोकेपछि गोल हुन् पुग्यो।

त्यसअघि खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला विकले गोल लाइनबाट उत्कृष्ट बचाउ गर्दै नेपालको खतरा टारेकी थिइन्।

३५औँ मिनेटमा सावित्रा भण्डारीको प्रहारलाई म्यानमारकी गोलकिपर म्यान नेइनले विफल बनाइन्। रेखा पौडेलले पेनाल्टी बक्स बाहिरबाट निकालेको पासलाई सावित्राले ‘वान भर्सेस वान’ अवस्थामा गरेको प्रहार नेइनले रोकेकी हुन्। 

४४औँ मिनेटमा राइट साइडबाट रेनुका नगरकोटेले निकालेको क्रसमा बक्सभित्र रहेकी सावित्राको हेडर ‘कनेक्ट’ हुन नसक्दा नेपालले अग्रता गर्ने अर्को सुनौलो अवसर खेर फाल्यो।

सुझावित समाचार