पार्टी अब उत्पीडित समुदायमै केन्द्रित हुन्छ : प्रचण्ड

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन्।

अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले गत केन्द्रीय समिति बैठकबाट स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय भएको जानकारी दिए। यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको बताए।

पार्टीको जनतासँग माओवादी तराई मधेश जागरण अभियानको क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै प्रचण्डले अभियान निकै प्रभावकारी बनेको दाबी गरे।

हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरूले जनयुद्धमार्फत उनीहरूका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको उल्लेख गर्दै उनले कार्यान्वयनमा भने समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्गकेन्द्रित अभियान थालिएको उनले स्पष्ट पारे।

आगामी वैशाखमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताए। यो अभियानस्वरूप र सन्देश दुवै हिसाबले मौलिक हुने जिकिर गर्दै उनले यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने बताए।

सुझावित समाचार