ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिकाले अपांगता भएका व्यक्तिहरूको आयआर्जनलाई मध्यनजर गर्दै समूहगत रूपमा प्रतिसमूह ५० हजारका दरले रकम उपलब्ध गराउने भएको छ । पालिकाभरि रहेका अपांग व्यक्तिहरूको समूह गठन गरी समूहगत रूपमा रकम दिइने पालिकाका अध्यक्ष केशर मेन्याङ्बाेले जानकारी दिए । दैनिक जीवनयापन सहज होस् भन्दै रकम उपलब्ध गराउन लागिएको हो ।
महिला ताथ बालबालिका शाखा प्रमुख पवित्रा थापाले अहिले अपांगता भएका व्यक्तिहरूको ६ वटा समूहलाई ५० हजारका दरले रकम उपलब्ध गराउने बताइन् । उनले सबै समूहको प्राविधिक कारणले उनीहरूको खातामा रकम लगाउन नसकिने भएकाले पालिकास्तरीय समूहमार्फत उनीहरूलाई पुँजी उपलब्ध गराउने बताइन्। कुनै पनि अपांगता भएका व्यक्ति आएर तरकारी खेती, बंगुरपालन तथा आयआर्जन हुने कुनै पनि शीर्षकमा रकम मागेमा उपलब्ध गराउने शाखा प्रमुख थापाले जानकारी दिइन् । उनले सो रकम निश्चित समयसम्म हुने र साँवा रकम पुनः समूहमा ल्याएर जम्मा गर्नुपर्ने नियम रहेको बताइन् । प्रमुख थापाले समूहमार्फत मासिक रूपमा निश्चित रकम पनि जम्मा गर्नुपर्ने र सो पुँजीलाई अझै बढाएर आयआर्जनमा लाग्नुपर्ने जानकारी दिइन् ।
अपांगहरूलाई दैनिक जीवनमा सहज होस् भन्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको थापाको भनाइ छ । पालिकाले अपांगता भएका व्यक्तिहरूको समूहलाई बचत तथा ऋणसम्बन्धी अभिमुखीकरणसमेत सम्पन्न भएको छ । अभिमुखीकरणमा सो पुँजी कसरी परिचानल गर्ने र आयअर्जन कसरी गर्ने भन्ने विषयमा जानकारी गराएको अध्यक्ष मेन्याङ्बोले जानकारी दिए । पाथीभरा याङबरकमा जनगणना २०७८ अनुसार २२६ जना अपांग व्यक्तिहरू थिए भने त्यसपछि पालिकाले पहिचान गरिएको ६५ जना गरी जम्मा २९१ जना रहेको प्रमुख थापाले जानकारी दिइन् ।