१४औँ साग २०२६ को जनवरीमा

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण
  • इस्लामाबाद, लाहोर र फैसलाबादमा सन् २०२६ को २३ देखि ३१ जनवरीसम्म दक्षिण एसियाली खेलकुद हुने

१४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ को २३ देखि ३१ जनवरीसम्म आयोजना हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले साग खेलकुद अर्को वर्ष आयोजना हुने निर्णय गरेको हो । यसअघि साग खेल सन् २०२५ मै गर्ने भनिएको थियो । पाकिस्तानमा तेस्रोपटक साग खेलकुद हुन लागेको हो । सन् १९८९ र २००४ मा पाकिस्तानको इस्लामाबादमा प्रतियोगिता भएको थियो । 

पहिलोपटक इस्लामाबादपछि पाकिस्तानले थप दुई सहरमा साग खेलकुद आयोजना गर्दै छ । अर्को वर्ष लाहोर, इस्लामाबाद र फैसलाबादमा साग खेलकुद हुनेछ । सन् २०१९ मा नेपालमा १३औँ सागको समाप्तिपछि पाकिस्तानले आयोजक राष्ट्रको झन्डा बोकेको थियो । तर, कोभिड १९ का कारण पाकिस्तानले सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न सकेन । यसबिचमा सहभागी राष्ट्र भारतले चासो नदेखाउँदा पनि सागको मिति सर्दै गएको हो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको कार्यकारी कमिटीको बैठक लाहोरस्थित अवारी होटेलमा भएको थियो । 

पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमुदले बैठकको अध्यक्षता गरेका थिए । भौतिक रूपमा ओलम्पिक कमिटीका अध्यक्षहरूको प्रतिनिधिले सहभागिता जनाएका थिए । तर, छिमेकी राष्ट्र पाकिस्तानमा भ्रमण नगर्ने अडान राखेको भारतको ओलम्पिक एसोसिएसनले अनलाइनबाट बैठकमा भाग लिएको थियो । सर्वोच्च अदातल र सरकारको निर्देशन पालना नगरी विवादास्पद रूपमा अनलाइन भोटिङबाट लगातार तेस्रोपटक नेपाल ओलम्पिक कमिटीका अध्यक्षमा निर्वाचित जीवनराम श्रेष्ठले भाग लिएका थिए । 

 भौतिक संरचनामा साढे तीन अर्ब रुपैयाँ खर्च
पाकिस्तान सरकारले १४औँ साग खेलकुद प्रतियोगिता भव्य बनाउन भौतिक पूर्वाधारमा तीन अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ । सन् २०२० मा पाकिस्तानले साग तयारी गरिरहँदा पूर्वाधारमा दुई अर्ब रुपैयाँको बजेट राखेको थियो । आयोजनाको मिति बारम्बार धकेलिँदा पाकिस्तानले तीन सहरका भौतिक संरचनामा व्यापक परिवर्तन गर्ने अवसर पाएको हो । यसैकारण, पूर्वाधार बजेटको आकार बढेको पाकिस्तान ओलम्पिक कमिटीले जनाएको छ । पिओएले लाहोरलाई मुख्य प्रतियोगिता भेन्युका रूपमा बनाएको छ । ओलम्पिक काउन्सिल एसियाका उपाध्यक्ष हसनले लाहोर र इस्लाबादमा मुख्य–मुख्य इभेन्ट हुने बताएका छन् । ‘पाकिस्तानले पहिलोपटक इस्लामाबादपछि थप दुई सहरमा साग खेल गर्दै छ, तेस्रोपटकको आयोजना भव्य बनाउने तयारी गरेको छ,’ हसनले भने, ‘सुरक्षा व्यवस्थामा कुनै कमी आउने दिनेछैन ।’ 

सागमा २९ खेल
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले आसन्न सागमा २९ खेल हुने जनाएको छ । बैठकले मिति घोषणा गर्नुका साथै प्रतियोगितामा थप दुई खेल समावेश गर्ने निर्णय गरेको हो । यसअघि प्रतियोगितामा २७ खेल हुने पक्का भइसकेको थियो, तर आयोजक पाकिस्तानले थप दुई खेल राख्न पाउने प्रावधान छ । आयोजक राष्ट्रले स्वर्णपदक जित्ने कुनै पनि खेल समावेश गर्न पाउँछ । तर, चारभन्दा कम राष्ट्रले सहभागिता जनाउँदा त्यो खेल हटाइनेछ । खेलको विस्तृत विवरण टुंग्याउनका लागि अर्को बैठक मार्च २०२५ मा राखिएको छ । 

विधान संशोधन कमिटीमा जीवनराम
लाहोरमा भएको काउन्सिलको वैठकले संगठन संशोधन समिति गठन गरेको छ । विधान संशोधनका लागि परिषद्का अध्यक्षको संयोजकत्वमा कमिटी गठन भएको छ । यसको सदस्यमा नेपालबाट जीवनराम र श्रीलंकाका सुरेनदाम सुब्रमन्यम रहेका छन् । यस समितिले संगठनको विधान परिमार्जन र अद्यावधिक गर्नेछ । अप्रिल अन्त्यमा टेक्निकल बुक वितरण गरिनेछ । 

पुरुष र महिलाले भाग लिने खेल
पौडी, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराँते, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, बास्केटबल (थ्री वाई थ्री), बास्केटबल (फाइभ वाई फाइभ), क्रिकेट, फुटबल, ह्यान्डबल, कबड्डी, रोइङ 

पुरुष मात्र सहभागी हुने
हक्की, रग्बी, बिच भलिबल र बिलियाड्स एन्ड स्नुकर 

सुझावित समाचार