ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विषयमा देखिएको विवाद समाधानका लागि ‘नो केबलकार’ समूह चार सर्तमा वार्तामा बस्न तयार भएको छ । गृह मन्त्रालयले वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले मंगलबार चार सर्त अघि सार्दै वार्तामा बस्न सकिने जनाएको हो ।
नो केबलकार समूहले मंगलबार विज्ञप्ति जारी गर्दै मुक्कुम्लुङमा दिगो शान्ति, सार्थक र परिणाममुखी वार्ताको वातावरण तयार गर्ने हो भने चार सर्त मान्नुपर्ने उल्लेख गरेको छ । विज्ञप्तिमा मन्त्रीस्तरीय वार्ता समिति गठन गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार हुनुपर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरीलगायत विभिन्न स्थानबाट पक्राउ गरिएकालाई निसर्त रिहाइ गरी ताप्लेजुङको निषेधाज्ञा हटाउनुपर्ने, केबलकार निर्माण कार्य बन्द गरी निर्माणस्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नुपर्ने तथा पाथीभरा मुक्कुम्लुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने सर्त राखिएको छ ।
गृह मन्त्रालयले यसअघि ९ र १२ फागुनमा विज्ञप्ति प्रकाशित गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो । गृह मन्त्रालयका सहसचिव तथा वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले आइतबार वा सोमबार वार्ता हुन सक्ने बताए । सरकारका तर्फबाट औपचारिक रूपमा बुधबार पत्र पठाइने उनले जानकरी दिए । ‘अहिले आन्दोलनरत पक्षसँग कुरा भइरहेको छ,’ उनले भने, ‘औपचारिक रूपमा वार्तामा बोलाएपछि दुवै पक्षको सहमतिमा वार्ताको मिति तोकिनेछ । आइतबार वा सोमबारसम्म वार्तामा बस्ने सम्भावना छ ।’ यसअघि पनि ९ र १२ फागुनमा सरकारी पक्षले वार्ताका लागि आह्वान गरेको र आन्दोलनरत पक्ष सकारात्मक भएको स्मरण गराए ।
मुक्कुम्लुङ अभियन्ता रामकुमार मादेनले सरकारी वार्ता टोलीसँग सम्पर्क भइरहेको बताए । उनले प्रेमप्रसाद भट्टराईको वार्ता टोलीसँग वार्तामा नबस्ने स्पष्ट पारे । वार्ताका लागि मन्त्रीस्तरीय टोली हुनुपर्ने आफ्नो अडान रहेको उनले बताए । केबलकार निर्माण बन्द गर्नुपर्ने आफ्नो मुख्य माग रहेको भन्दै अन्य तीनवटा मागसमेत पूरा हुनुपर्ने मादेनले बताए । केबलकार निर्माणका क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत २० माघमा गृह मन्त्रालयले वार्ता टोली गठन गरेको थियो । २२ र २७ माघको वार्ता निष्कर्षविहीन भएपछि केबलकारविरोधी समूहले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
नो केबुलकार समूहले ६ देखि ८ फागुनसम्म मुक्कुम्लुङ पदयात्रा आयोजना गरेको थियो । कार्यक्रमको अन्तिम दिन ८ फागुनमा केबलकारको निर्माणस्थल काफ्लेपाटीमा नो केबलकार समूह र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरी, सवारीचालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समूह शनिबार साँझदेखि सदरमुकामकेन्द्रित भएको छ । शनिबार साँझ नो केबलकार समूह र प्रहरीबिच झडप हुँदा २३ जना घाइते भएका थिए ।
निषेधाज्ञा हटाइयो
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंगलबार राति ११ बजेबाट निषेधाज्ञा हटाएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले फुङलिङ बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण ११ फागुन बिहान ५ बजेदेखि लागू हुने जारी गरिएको निषेधाज्ञा मंगलबार राति ११ बजेबाट खुला गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको सूचनामा उल्लेख छ ।