भद्रपुर झापा गोल्डकप : पहिलो खेलबाटै बाहिरियो एपिएफ

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

भुटानको डागा युनाइटेड फुटबल क्लब भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमबार मेची रंगशालामा भएको खेलमा नेपाल एपिएफ फुटबल क्लबमाथि ३–२ को कठिन जित निकाली डागा युनाइटेडले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । डागा युनाइटेडले अब सेमिफाइनल प्रवेशका लागि ‘बी’ डिभिजन लिग तयारी गरिरहेको झापा ११ को सामना गर्नेछ । भुटानी क्लबको जितसँगै गोल्डकपको क्वार्टरफाइनको समीकरण पूरा भएको छ । 

डागा युनाइटेडको जितमा लाक्पा पाख्रिन एक तथा हेमराज भुजेलले समान दुई गोल गरे । एपिएफका दिपेश धिमाल र सुमन श्रेष्ठले गोल फर्काए । घरेलु फुटबलमा नाम चलेको क्लब एपिएफले पहिलो हाफमा फितलो प्रदर्शन गर्दा दुई गोल व्यहोरेको थियो । खेलको ३४औँ मिनेटमा डागा युनाइटेडका लाक्पाले १–० का लागि गोल गरे । सुरज रसाइलीले एपिएफका तीनजना डिफेन्डरबिचबाट लाक्पालाई सटिक पास निकाले । त्यसपछि उनले उत्कृष्ट फिनिसिङ गरे । खेलको ३६औँ मिनेटमा एपिएफले अर्को गोल खायो । डागा युनाइटेडका वसन्त नेवारको क्रसमा हेमराज भुजलले फस्ट टचमै टोलीलाई २–० को अग्रतालाई दिलाए । 

एपिएफले दोस्रो हाफमा आक्रामक रणनीति बुन्यो । मध्यान्तरपछि एपिएफले अधिकांश समय बल पोसेसन बनाउँदै डागा युनाइटेडको पोस्ट चार्ज गरिरह्यो । डागा युनाइटेडले दोस्रो हाफमा डिफेन्सलाई बलियो बनाउँदै काउन्टर अट्याकमा ध्यान दिएर खेल्यो । एपिएफले खेलको ५९औँ मिनेटमा २–१ को गोलअन्तर बनायो । एपिएफका मनिकुमार लामाको कर्नरमा दिपेश धिमालले हेडिङ गोल गरेका हुन् । एपिएफले डिफेन्समा ध्यान पुर्याउन नसक्दा काउन्टर अट्याकमा ३–१ ले पछि पर्यो । 

काउन्टरमा गोल
खेलको ६३औँ मिनेटमा एपिएफका डिफेन्स र गोलरक्षक एन्जल श्रेष्ठबिच तालमेल मिलेन । गोलरक्षक श्रेष्ठ आफ्नो स्थान छाडेर बाहिर आएको मौकामा डागा युनाइटेडका हेमराजले मैदानको मध्यभागबाट उत्कृष्ट ड्रिब्लिङ गर्दै गोलरक्षकविरुद्ध वान भर्सेस वानमा गोल गरे । खेलको अतिरिक्त समयमा एपिएफले पेनाल्टीमा गोल फर्कायो । डागा युनाइटेडका जम्सो तेन्जिङले एपिएफका विपिन श्रेष्ठलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले टोलीलाई ३–२ को अवस्थामा फर्काए । मध्यान्तरपछि एपिएफले निकै आक्रामक खेलेको थियो । तर, प्राप्त अवसरमा गोल गर्न नसक्दा एपिएफ पहिलो खेलबाटै गोल्डकपबाट बाहिरियो ।

व्यस्त गोल्डकपको तालिका 
मोसफलमा लगातारजसो गोल्डकप प्रतियोगिता भइरहेका छन् । जसले सहभागी घरेलु टोलीले आफ्नो पूरै सेट खेलाडीलाई मैदानमा उतार्न पाएका छैनन् । क्लबहरूले पनि आफू अनुकूल नतिजा निकाल्न सकेका छैनन् । कतिपय क्लबले आधा–आधा गरी खेलाडी मैदान उतारिरहेका छन् । अझ कुनै क्लबले खेलाडीलाई रेस्ट नै नदिई खेलाडीलाई मैदानमा प्रतिस्पर्धा गराएको देखिन्छ । एपिएफले पनि खेलाडीलाई २४ घण्टा पनि रेस्ट नदिई सोमबार मेची रंगशालामा उतारेको थियो । अन्तर्राष्ट्रिय फुटबलको सामान्य नियमअनुसार एक खेलपछि खेलाडीले ७२ घण्टा रेस्ट पाउनुपर्छ ।

दोस्रो हाफमा एपिएफले दबाब बनायो : दोर्जी खान्दु, प्रशिक्षक, डागा युनाइटेड 
हामी यहाँ मिश्रित खेलाडी लिएर आएका हौँ । दोस्रो हाफमा एपिएफले दबाब बनायो । पहिलो हाफमा हामीले राम्रो खेलेका थियौँ । एपिएफको खेलबारे राम्रो जानकारी थियो । मैले मध्यान्तरपछि काउन्टर अट्याक खेल्न निर्देशन दिएँ । रणनीतिअनुसार खेल्दा दोस्रो हाफमा सुन्दर गोल निस्कियो । तर, एपिएफले राम्रो खेल खेल्यो ।

आराम नपाउँदा खेल्न गाह्रो भयो : मिलन राई, प्रशिक्षक एपिएफ 
हामी आइतबार केपी ओली कपमा सहभागी भएर सीधै भद्रपुर झापा गोल्डकपमा खेल्न आएका हौँ । खेलाडीले २४ घण्टा पनि रेस्ट नपाउँदा खेल्न गाह्रो भयो । कम्तीमा ७२ घण्टा रेस्ट हुनुपर्छ । खेलाडीले आराम गर्न नपाउँदा पहिलो हाफ गाह्रो भएको हो । मध्यान्तरपछि राम्रो भयो । मौकामा स्कोर निकालेको भए हाम्रो जित पक्का थियो । 
 

सुझावित समाचार