२४ घण्टाभित्र नेपालगन्ज मेडिकल कलेजलाई बोर्ड हटाउन नेपालगन्ज उपमहानगरको निर्देशन

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

केन्द्र, प्रदेश र स्थानीय तहमा दर्ता नगरी नाम परिवर्तन गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजलाई बोर्ड हटाउन निर्देशन दिएको छ। 

लर्ड बुद्ध एजुकेसनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजले तीनवटै तहका सरकारबाट अनुमति नलिई ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा सञ्चालित ‘सञ्जीवनी हस्पिटल’ को बोर्ड लगाएपछि नेपालगन्ज उपमहानगरले २४ घण्टाभित्र उक्त बोर्ड हटाउन निर्देशन दिएको हो। ‘बाहिर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा सञ्चालित ‘सञ्जीवनी हस्पिटल’ को बोर्ड लगाए पनि भित्र लर्ड बुद्ध एजुकेसनल एकेडेमीको नाममा कारोबार भइरहेको तथ्यप्रति उपमहानगरको गम्भीर ध्यानाकर्षण भएको छ,’ नगर प्रमुख प्रशान्त विष्टले पठाएको पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त सञ्जीवनी कलेज सञ्चालनको लागि नेपालको संविधानबमोजिमका तीनवटै तहका सरकारमध्ये कहीँ कतैबाट अनुमति प्राप्त भएको भए सो पेस गर्नू र प्राप्त नभएको भए उक्त बोर्ड हटाई कानुनबमोजिम अनुमति प्राप्त गरेअनुसार कारोबार गर्नू–गराउनू हुन निर्देश गरिन्छ।’

कानुनबमोजिम नगरेको पाइए नेपालगन्ज उपमहानगरले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ। कलेज व्यवस्थापन समितिले लर्ड बुद्ध एजुकेसनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजले नाम परिवर्तन गरी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा सञ्चालित सञ्जीवनी हस्पिटलको बोर्ड राखेपछि त्यहाँ कार्यरत कर्मचारीले उक्त बोर्ड जबर्जस्ती हटाएका थिए। 

कलेज व्यवस्थापनले नाम परिवर्तनसँगै त्यहाँ कार्यरत कर्मचारी हटाउन थालेपछि कर्मचारीहरू आन्दोलित भई अस्पतालको सेवासमेत अवरुद्ध गरेका थिए। कर्मचारीहरू आन्दोलित भएपछि कलेज व्यवस्थापन समिति अदालत पुगेको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले अस्पतालको सेवामा बाधा नपुर्याई सेवा सञ्चालन गर्न परमादेश जारी गरेको थियो। 

सुझावित समाचार