इन्स्पेक्टर मृत्यु प्रकरण : सहकर्मीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

पोखरा महानगरपालिका लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गतको तालिम केन्द्रको महिला शौचालयसँगैको बाँसमा झुन्डिएको अवस्थामा मृत फेला परेकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा अर्का प्रहरी निरीक्षकविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा किटानी उजुरी दिएको छ ।

कार्यालयमै महत डोरीले बाँसमा झुन्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले एक ब्याच सिनियर अर्का सशस्त्र प्रहरी निरीक्षकविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको उजुरी दिएको हो । किटानी उजुरीपछि दर्ता गरेर पक्राउ पुर्जी लिएर आवश्यक अनुसन्धानका लागि आरोपित  निरीक्षकलाई पक्राउ गर्ने तयारी कास्की प्रहरीले गरेको छ । 

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की निरीक्षक हुन् भने परिवारले उजुरी दिएका निरीक्षक भने एक ब्याच सिनियर अर्थात् १६औँ ब्याचका हुन् । स्राेतका अनुसार उनीहरू दुईजना प्रेममा रहेका र सम्बन्धमा केही खटपट भएपछि महतले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । ०७२ सालमा जवानमा भर्ना भएकी महतले ०७८ सालमा असइमा र ०८१ मा निरीक्षकमा नाम निकालेर निरीक्षकको तामिल लिँदै गरेकी थिइन् ।

महत शनिबार बेलुका २१ः३० बजे तालिम केन्द्रको महिला शौचालयसँगैको बाँसमा झुन्डिएको अवस्थामा मृत फेला परेकी सशस्त्र प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डिआइजी कुमार न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार महत सि.सं. १७ को आधारभूत तालिम लिँदै गरेकी थिइन् । 

घटनाको आन्तरिक छानबिनका लागि समिति गठन

घटनापछि घटनाको आन्तरिक छानबिन गर्न सशस्त्र प्रहरी बलले आइतबार एक समिति गठन गरेको छ । बलका प्रवक्ता एवं सूचना अधिकारी न्यौपानेका अनुसार सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको हो । समितिले घटनाको आन्तरिक छानविन गर्नेछ ।

प्रवक्ता न्यौपानेका अनुसार घटनालगत्तै नेपाल प्रहरीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको छ । आवश्यक कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भए पनि सशस्त्रले भने आन्तरिक छानबिनका लागि समिति बनाएको हो ।
 

सुझावित समाचार