मुगुमा डोजरले खसालेको ढुंगा लागेर छोराको मृत्यु, आमा घाइते

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

मुगुमा सडक निर्माणका क्रममा डोजरले खसालेको ढुंगा लागेर छोराको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्। मृत्यु हुनेमा सोरु गाउँपालिका– १०, धैन गाउँनिवासी १० वर्षीय बालक लोकजंग नेपाली रहेका छन्। उनकी आमा कल्पना नेपाली गम्भीर घाइते भएको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिए।

कल्पनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने थप उपचारका लागि जिल्ला अस्पताल, मुगु लैजाने तयारी भइरहेको छ। घटना आइतबार साँझ ६ बजेतिर भएको हो। हुम्लाबाट घरायसी काम सकेर फर्किँदै गर्दा गाउँनजिकै सडक खन्दै गरेको डोजरले खसालेको ढुंगाले लागेर लोकजंगको घटनास्थलमै मृत्यु भएको थियो।

कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत सोरु गाउँपालिका- १० बजुरेदेखि दोमुखसम्म ठेकेदार कम्पनीले ट्रयाक खोल्ने काम गरिरहेको थियो। स्थानीयवासीले सडक निर्माणका क्रममा ठेकेदार पक्षले सुरक्षा मापदण्ड नअपनाएको र लापरबाही गरेको आरोप लगाएका छन्।

आइतबार साँझ घटना हुनेबित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोली खटिएर घटनास्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अच्युतराज आचार्यको नेतृत्वमा सोमबार बिहानै घटनास्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोली पुगेको थियो ।

सुझावित समाचार