मकवानपुरको बागमती गाउँपालिकामा जारी साताैँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज छिनोफानो हुँदै छ । बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि साबिक विजेता मच्छिन्द्र क्लब र प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।
दुई टिमबिचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्ने योजनासहित मैदानमा उत्रनेछन् । मच्छिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
मच्छिन्द्र लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ भने चर्च ब्वाइज पहिलोपटकको सहभागितमै उपाधि विजेतामा नाम लेखाउन चाहन्छ । दुवै टोलीका लागि बागमती गोल्डकपको आजको फाइनल भिडन्त ऐतिहासिक हुनेछ ।
उपाधि विजेताले पुरस्कारस्वरूप नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।