भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा चारवटा ‘ए’ डिभिजन क्लबले सहभागिता जनाए । तर, कुनै पनि क्लबले सेमिफाइनलमा स्थान बनाउन सकेनन् । आइतबार भएको खेलमा बंगलादेशको काउर्न बाजार प्रगति संघले ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई २–० ले हरायो । एनआरटीको हारसँगै झापा भद्रपुर गोल्डकपमा सहभागी चारै ‘ए’ डिभिजन क्लब बाहरिएका हुन् । यी सबै क्लब आ–आफ्नो पहिलो खेलमै पराजित भएका हुन् ।
यसविपरीत ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापाले भने उत्कृष्ट प्रदर्शन गर्यो । झापाले चर्च ब्वाइज र मच्छिन्द्रलाई हराएको थियो । आयोजक भद्रपुर ब्लेजर्सले नेपाल पुलिसमाथि जित निकालेको थियो । बंगलादेशको काउर्न बजार सेमिफाइनलमा पुगेको छ । अब काउर्नले फाइनल प्रवेशका लागि आयोजक भद्रपुरविरुद्ध खेल्नेछ । काउर्नलाई अन्तिम चार स्थान पक्का गराउने क्रममा साहिद र एस सिल्लाहले एक–एक गोल गरेका थिए ।
भद्रपुरस्थित मेची रंगशालामा खेलको २४औँ मिनेटमा काउर्नले १–० को अग्रता लिएको थियो । सकिलले डिबक्सभित्र निकालेको क्रसमा अनमार्कमा रहेका साहिदले सहजै गोल गरे । खेलको २६औंँ मिनेटमा एनआरटीका डिफेन्डरको गल्तीमा काउर्नका सिल्लाहले उत्कृष्ट ड्रिब्लिङ गर्दै गोलरक्षक प्रमिजय गच्छदारविरुद्ध वान भर्सेस वानमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । काउर्नले एनआरटीमाथि दबाब राखेको थियो ।
नेपाल सुपर लिग र मोफसलमा चलिरहेका नियमित खेलाडीविना एनआरटीले बंगलादेशी क्लबविरुद्ध प्रदर्शन गरेको थियो । एनआरटीका खेलाडीको तालमेल र डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो । काउर्न राम्रो तालमेल मिलाउँदै एनआरटीमाथि हाबी भएको थियो । ‘ए’ डिभिजनकै अनुभवी क्लब एनआरटी सबै पक्षमा कमजोर देखियो । एनआरटीले डिफेन्स, मिडफिल्ड र फिनिसिङ खासै प्रदर्शन गर्न सकेन । पहिलो खेलमै एनआरटीको प्रदर्शन बिर्सनलायक रह्यो । विपक्षी पोस्टमा एनआरटीले खासै आक्रमण बुन्न सकेन । खेलको पाँचौँ मिनेटमा बंगलादेशी डिफेन्डरको गल्तीमा एनआरटीका मोहित गुरुङले गोलरक्षक रब्बीसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् ।
स्ट्राइकरले राम्रो खेल्न सकेनन्
श्याम माली, प्रशिक्षक, एनआरटी
काउर्न बजारविरुद्धको नतिजा अपेक्षित रहेन । यो नतिजाले हाम्रो छवि नै बिग्रियो । केही ठाउँमा यस्तो भइरहेको छ । हामीले पहिलो सेटको टोली ल्याउन सकेका छैनौँ । नतिजामा खुसी छैन । गुणस्तरीय स्ट्राइकरले राम्रो खेल्न सकेनन् । डिफेन्स लाइन पनि कमजोर देखियो । रणनीतिअनुसार खेले पनि तालमेल बिग्रियो ।
राम्रो योजना बनाएर आएका थियौँ
सोयल रहमान, सहायक प्रशिक्षक, क्राउन बजार
यो गोल्डकपका धेरै मिहिनेत गरेका थिएनौँ । हामीले एनआरटीको अघिल्लो खेल हेर्यौँ । उनीहरूको कमजोरी पक्ष केलायौँ । त्यहीअनुसार योजना बनायौँ । केही विदेशी खेलाडी पनि मैदानमा उतार्यौँ । पहिलो संस्करणमा सहभागी टोलीले राम्रा खेलाडीलाई खेलाउने थाहा पायौँ । गत संस्करणमा हामीले मध्यम टोली ल्याएका थियौँ । यसपटकको टोली बलियो छ । खेलमा एनआरटीले नराम्रो खेलेको भन्द मिल्दैन ।