फोर नेसन्स कप : घरेलु टोलीको उत्कृष्ट पुनरागमन, फाइनलको प्रतिस्पर्धी म्यानमारसँग बराबरी

प्रीति राईको चलाखीपूर्ण पासमा खेलको ४१औँ मिनेटमा सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपाललाई २–२ को बराबरीमा पुर्‍याइन्

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण
फोर नेसन्स कप : घरेलु टोलीको उत्कृष्ट पुनरागमन, फाइनलको प्रतिस्पर्धी म्यानमारसँग बराबरी

म्यानमारविरूद्ध गोल गरेपछि खुसी साट्दै घरेलु खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

दुईपटकसम्म पछि परेको घरेलु टोली नेपालले उत्कृष्ट पुनरागमन गर्दै आइतबार फोर नेसन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा म्यानमारलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको छ । महिला फिफा वरीयताको ५५औँ स्थानमा रहेको म्यानमारविरुद्ध नेपालले पहिलो तथा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । बराबरी नतिजासँगै राउन्ड रोबिन लिगको शीर्ष स्थानमा म्यानमार रह्यो । म्यानमार र नेपालले तीन खेलबाट समान ७ अंक जोडेका छन् । गोलअन्तरमा नेपाल दोस्रो स्थानमा रह्यो । 

प्रतियोगितामा सहभागी लेबनान र किर्गिस्तान लगातार दुई हारका साथ बाहिरिसकेका छन् । म्यानमार र नेपाल राउन्ड रोबिनको अन्तिम खेलअघि नै फाइनलमा पुगेका थिए । म्यानमार लिग विजेता र नेपाल उपविजेता रह्यो । अब दुवै टोलीले बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । स्ट्राइकर सावित्रा भण्डारीले दशरथ रंगशालामा नेपाललाई हारबाट जोगाएकी थिइन् । उनले व्यक्तिगत एक गोल गर्नुका साथै एक असिस्ट गरेकी थिइन् । १२ हजार दर्शकसामु सावित्राले प्रभावशाली प्रदर्शन गर्दै प्लेयर अफ दी म्याचको उपाधि हात पारिन् । म्यानमारका लागि म्याट नोई खिन र मे टेट लुले गोल गरेका थिए । दोस्रो हाफमा घरेलु टोली नेपालले म्यानमारमाथि दबाब राखेको थियो । म्यानमारले काउन्टर एट्याक्टलाई प्राथमिकतामा राख्दा नेपालले विपक्षी पोस्टमा प्राविधिक शैली खेल्दै दबाब बनाएको थियो । यद्यपि, नेपाली खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन् । 

म्यानमारविरुद्ध नेपालको यो तेस्रो अन्तर्राष्ट्रिय खेल हो । नेपालले म्यानमारलाई दुईपटक बराबरीमा रोकेको छ । यसअघि एएफसी महिला ओलम्पिक छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई ३–१ ले हराएको थियो । दोस्रो खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । 

पहिलो हाफमा चार गोल
नेपालका खेलाडी मैदानमा सेट हुन नपाउँदै म्यानमारले छैटौँ मिनेटमा १–० को अग्रता लिँदै घरेलु दर्शकलाई स्तब्ध पार्यो । डिबक्सबाहिर सविताले स्वे यी तुनलाई फल गरेपछि म्यानमारले फ्रिकिक पायो, जसलाई म्याट नोई खिनले गोल गरिन् । म्यानमारको अग्रता पाँच मिनेटका लागि मात्र रह्यो । खेलको ११औँ मिनेटमै नेपालले १–१ को बराबरी गोल फर्कायो । सावित्राले एकल प्रयासमा डिबक्सअगाडि सवितालाई सटीक पास दिएकी थिइन् । सविताले अफसाइड बिट गर्दै नेपाललाई बराबरीमा पुर्याइन् । 

सविताको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि उनले वाफ र साफ च्याम्पियनसिपमा गोल गरेकी थिइन् । बराबरीसँगै खेलमा रोमाञ्चकता आयो । म्यानमारका खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजरमा प्राप्त अनुभव प्रयोग गर्दै खेलको १६औँ मिनेटमा २–१ को अग्रता गोल गरे । म्यानमारले यसपटक नेपालको रक्षापंक्तिको कमजोरीको फाइदामा गोल गरेको थियो । मे टेटले तीन डिफेन्डरलाई छकाउँदै सहजै गोल गरिन् । प्रतियोगितामा उनको यो तेस्रो गोल हो । नेपालले बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो । तर, म्यानमारको डिफेन्स तोड्न सकेको थिएन । खेलको ४१औँ मिनेटमा सावित्राले डिबक्सभित्रबाट उत्कृष्ट गोल गरिन् । उनले मिडफिल्डर प्रीति राईको चलाखीपूर्ण पासमा गोल गरेकी हुन् । 

तीन खेलाडी परिवर्तन
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारसँगको प्रतिस्पर्धामा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले सुरुको प्लेइङ ११ मा कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखे । अञ्जिलाको स्थानमा अञ्जना रानामगरले मौका पाइन् ।  यसैगरी, स्ट्राइकर रेखा पौडेलको स्थानमा रश्मिकुमारी घिसिङलाई खेलाइयो । प्रशिक्षक तामाङले किर्गिस्तानविरुद्धको पहिलो खेलमा विजयी गोल गरेकी विमला चौधरीको स्थानमा सरु लिम्बूलाई मैदानमा उतारेका थिए । राउन्ड रोबिन लिगमा नेपालले किर्गिस्तान र लेबनानविरुद्ध समान १–० ले जित निकालेको थियो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पराजित गरेको थियो । 

सेट हुनुअघि नै गोल खायौँ
 राजेन्द्र तामाङ, मुख्य प्रशिक्षक, नेपाल

सुरुवातमा खेलाडीले संगठित हुने मौका नै पाएनन् । म्यानमारले यसैको फाइदामा गोल ग¥यो । सुरुको आठ मिनेट खेल मिलेको थिएन । खेलाडीले धैर्यसाथ खेले । फाइनलअघि म्यानमारविरुद्धको प्रतिस्पर्धामा कमजोरी औँल्याउने मौका पायौँ । 

टिम स्पिरिटका साथ खेल्यौँ
 सावित्रा भण्डारी, स्ट्राइकर, नेपाल

सुरुमा पोसेसनमा कमजोरी भएको थियो । बराबरी गोलपछि नेपालको खेलमा सुधार आयो । फाइनलमा पनि यही स्पिरिटमा प्रतिस्पर्धा गरी उपाधि जित्ने अपेक्षा छ । म्यानमारका मुख्य तीन मिडफिल्डरलाई रोक्न सफल भयौँ । 

सुझावित समाचार