निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायांकन सुरु भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायांकन सुरु गरिए तापनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो । आफ्नो स्वास्थ्यअनुकूल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिकाअनुसार नै गोरखामा छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तितो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए। उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्मको विषयअनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’
स्वास्थ्यलाभ गरेर छायांकनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ ऊर्जाका साथ काम भइरहेको बताए। ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्। छायाकार प्रधान तीस वर्षपछि नेपाली फिल्म छायांकनका लागि नेपालमा आएका हुन्। फिल्मको छायांकन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा विपिन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरिरहेका छन्।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदै छन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।
यसमा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ सहनिर्माता रहेको फिल्म नेपालमा बैंकटेस इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेसनल फिल्म्सले वितरण गर्नेछ।
यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो। पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’मार्फत निर्देशनमा कमब्याक गरेका हुन्।