प्रथम नीलकण्ठ मेयर फुटसलको उपाधि आयोजकलाई

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधि आयोजक नीलकण्ठ नगरपालिकाले जितेको छ। रुबीभ्याली गाउँपालिकालाई ६–३ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि चुमेको हो।

आयोजक नीलकण्ठ जायन्ट्ससँग हार व्यहोरेको रुबीभ्याली गाउँपालिका उपविजेता बनेको छ। त्यस्तै, धादिङ अस्पताल तेस्रो र गोर्खा नगरपालिकाले चौथो स्थान सुरक्षित गरेका छन्।

उपाधि विजेता नीलकण्ठ जायन्ट्सले नगद एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्दा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५१ हजार १११ रुपैयाँ, २५ हजार रुपैयाँ र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यस्तै, विधागततर्फ नीलकण्ठ जायन्ट्सका खेलाडीहरू रवि भण्डारी सर्वाधिक गोलकर्ता (३३ गोल), उत्कृष्ट डिफेन्डर सरोज पाण्डे र उत्कृष्ट गोलरक्षक बलबहादुर तामाङ घोषित भए। उत्कृष्ट खेलाडी भने धादिङ अस्पतालका डाक्टर जीवन घिमिरे घोषित भए। विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही ६ हजार रुपैयाँ प्रदान गरिएको छ।

नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न अन्तरपालिकास्तरीय फुटसल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका थिए। नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिकास्तरीय जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने गरी फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो।
 

सुझावित समाचार