सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्वमहानिर्देशक जीवनप्रकाश सिटौलालाई ३ प्रश्न

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

देश सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्नुले के असर पार्छ ?
यसले असर त पक्कै पनि पार्छ । यसैका कारण वैदेशिक लगानीमा असर पर्न सक्छ । विप्रेषणको लागत बढ्न सक्छ । जोखिमयुक्त देश भनेर एलसीको लागत पनि बढ्न सक्छ । दाता राष्ट्र र संस्थाले पनि यसैका कारण आफ्नो सहयोगमा पुनर्विचार गर्न सक्छन् । यसको मल्टिपल असर देखिन सक्छ । दुई वर्षभित्र राम्रो भयो भने यसबाट बाहिर निस्कन र कालोसूचीबाट जोगिन सकिन्छ । 

ग्रे लिस्टमा पर्ने जोखिमबारे पहिल्यै थाहा हुँदाहुँदै पनि सचेत हुन किन नसकिएको होला ? 
हो, यसबारे पहिल्यै थाहा थियो । अन्तर्राष्ट्रिय फाइनान्सियल टास्कफोर्स (एफएटिएफ) ले यसबारे वेलावेलामा सचेत गराउँदै आएको पनि थियो । उसले सुझावहरू पनि दिएको थियो । तर, त्यसअनुसार ऐन पनि ढिलै आयो । आएपछि पनि कार्यान्वयनमा तदारुकता देखिएन भने एफएटिएफको भनाइ छ । समग्रमा भन्दा हामीले समयमै एफएटिएफको चित्त बुझाउन सकेनौँ । हामीकहाँ अनुसन्धान, नियमनलगायत कार्य गर्ने संस्थाबीच समन्वयमा पनि कमी छ । त्यसैले पनि समस्या भयो ।

अब के गरेमा ग्रे लिस्टबाट बाहिरिन सकिन्छ त ?
नेपालले सम्पत्ति शुद्धीकरणबारे आफ्नो ‘एक्सन प्लान’ एफएटिएफमा बुझाइसकेको छ । उसले त्यसलाई स्वीकृत पनि गरिसकेको छ । अबका दुई वर्षसम्ममा उसले त्यसको अनुगमन गर्छ । कार्यान्वयनको पाटोबाट ऊ सन्तुष्ट भयो भने हामी ग्रे लिस्टबाट बाहिरिन्छौँ । तर, सन्तुष्ट भएन भने कालोसूचीमा जान पनि सक्छ । त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था हुन सक्छ । हामीले निजी पहलमा यही २३ फागुनमा काठमाडौंमा एन्टी मनी लाउन्डरिङ कन्फ्रेन्स गर्दै छौँ । त्यहाँबाट पनि के गर्ने र कसरी गर्ने भन्ने सम्बन्धमा सरकारलाई सुझाव दिनेछौँ । 

सुझावित समाचार