मापसेले निम्त्याएका गम्भीर अपराध

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

मादक पदार्थ सेवन गरी गुल्मीमा आफ्नै बुबा र छिमेकीको हत्या, बलात्कार र घरमै आगजनी क्रम बढ्दो

गत ८ माघमा मालिका गाउँपालिका– ८ का ६० वर्षीय लालबहादुर घर्तीलाई कान्छो छोरा २९ वर्षीय डम्बरबहादुरले कुटपिट गरेर हत्या गरे । छिमेकीका अनुसार बाबुछोरा नै अत्यधिक मदिरा सेवन गर्थे । मदिराकै झोकमा झगडा हुँदा आफूले बुबालाई बारीमा धकेलेर निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेर गाडेको डम्बरबहादुरले स्वीकार गरेका छन् । उनी अहिले प्रहरी हिरासतमा छन् । 

एक वर्षअघि लालबहादुरकै जेठा छोरा ३३ वर्षीय रामबहादुरले मादक पदार्थ सेवनपछि आगजनी गरेर घर ध्वस्त बनाएका थिए । उनी अहिले जिल्ला कारागार गुल्मीमा कैद सजाय भोगिरहेका छन् । ‘रातदिन परिवारका सबै रक्सी खाएर झगडा गर्छन् । रक्सी खाएर जेठाले पोहोर घर जलायो, कान्छाले बाउ नै मार्‍योे,’ स्थानीय टोपबहादुर विकले भने, ‘रक्सीले गाउँ–समाजमा बेथिति बढायो ।’

इस्मा गाउँपालिका– ४ का ४८ वर्षीय मीनबहादुर अछामीले मदिराको मातमा छिमेकी ५१ वर्षीया मीना दर्लामीको गत ३० मंसिरमा क्रूरतापूर्वक हत्या गरे । दुवैजनाले मादक पदार्थ सेवन गरेर दिनभर झगडा गरेको स्थानीयको भनाइ छ । वर्षौँदेखिको साँधसीमा र खानेपानीको रिसले अपराधसम्मको अवस्था आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले बताए । हत्या गरेर फरार अछामी दुई दिनमै पक्राउ परे । प्रहरी अनुसन्धानपछि जिल्ला अदालतले अछामीलाई कारागार चलान गर्‍यो ।

इस्मा गाउँपालिका– ५ की ३९ वर्षीया शान्ति कुमालले मादक पदार्थ सेवनकै कारण गत ८ माघमा बसबाट खसेर ज्यान गुमाइन् । ८ माघमा तम्घासबाट गाउँ फर्किएकी शान्ति मादक पदार्थ सेवनले अडिन सक्ने अवस्थामा थिइनन् । भाडाको विषयमा विवाद भएपछि झरेर फेरि चढ्न खोजेपछि बसले किचेर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शान्तिका दुई छोरा र पाँच छोरी गरेर सात सन्तान छन् ।

गत ५ असोजमा मुसिकोट नगरपालिका– ६ भुवाचिदीका ३४ वर्षीय किरण मगरलाई सोही ठाउँका रेममाया कुमालसहित पाँचजनाले मादक पदार्थ सेवनपछि विवाद निकालेर कुटपिट गरे । कुटपिटबाट सख्त घाइते मगरको उपचारका क्रममा मृत्यु भयो । घटनामा संलग्न पाँचजनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेपछि अहिले सबैजना पुर्पक्षका लागि कारागार छन् । 

मादक पदार्थ सेवनकै झोकमा धुर्कोट गाउँपालिका– ६ का ५० वर्षीय रेखबहादुर परियारले आफ्नै घरमा आगजनी गरेर परिवारलाई सडकमै पुर्‍याए । उनले आगलागी नियन्त्रणमा खटिएका प्रहरीलाई समेत अभद्र व्यवहार गरे । धुर्कोट गाउँपालिका हाडहाडेका ३३ वर्षीय भूपबहादुर पुनले पनि मादक पदार्थ सेवन गरेर गत २ पुसमा आफ्नै गोठमा आगजनी गरेर ध्वस्त पारे । दुवैजनालाई पक्राउ गरेर कानुनअनुसार कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

१५ माघ ०७९ मा गुल्मीको मुसिकोट नगरपालिका– ७ वामीमा होटेल सञ्चालन गरेकी ५८ वर्षीया गंगादेवी शेरचनको हत्या भएपछि अनुसन्धानमा जुटेको प्रहरी । फाइल तस्बिर 

मदिरा सेवन गरेर १२ र १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका– ४ का १८ वर्षीय छबबहादुर घर्तीविरुद्ध १२ मंसिरमा उजुरी दर्ता भयो । पीडित बालिकालाई घर्तीले ३० असोजमा ललाइफकाइ होटेलमा लगेर बलात्कार गरेका थिए । बालिकाको यौनांगमा संक्रमण भएपछि डेढ महिनापछि बलात्कार घटना बाहिर आएको हो । 

गुल्मीको मुसिकोट नगरपालिका– ७ वामीमा  होटेल सञ्चालन गरेकी बाग्लुङ बडिगाड गाउँपालिका–२ की ५८ वर्षीया गंगादेवी शेरचनको १५ माघ ०७९  हत्या भयो । उनी १५ माघमा होटेलभित्र हातखुट्टा बाँधिएको र मुखमा टेप लगाइएको अवस्थामा मृत फेला परेकी थिइन् । 

बिहान अबेरसम्म पनि होटेलको ढोका नखुलेपछि स्थानीयले वामी प्रहरीचौकीमा खबर गरेका थिए । झन्डै तीन महिनापछि प्रहरीले घटनामा संलग्न मकवानपुरका लोकबहादुर दर्लामी, सिन्धुपाल्चोकका शिवबहादुर तामाङ र बाग्लुङका थम्मन घर्तीलाई पक्राउ गरेर अदालत पेस गरेको थियो । अहिले तीनैजना जेल चलान भएका छन् ।

मालिकामा मदिरा नियन्त्रणको प्रयास
मालिका गाउँपालिकाले मदिराले अपराधका घटनामा वृद्धि हुँदै गएपछि पहिलो चरणमा कम गुणस्तरको रक्सी बिक्री–वितरणमा बन्देज लगाउने निर्णय गरेको छ । मालिका गाउँपालिका– ८ मरभुंगमा मादक पदार्थ सेवनका कारण एक सातामै दुई ठुला घटना भएपछि रक्सी बिक्री–वितरणमा बन्देज गर्ने निर्णय गरेको मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । उनका अनुसार व्यवसायीसँग भएको स्टकलाई सात दिनभित्र व्यवस्थापन गरिसक्ने, अनुमति प्राप्त व्यवसायीले साँझ साढे ५ देखि राति ८ बजेसम्म मात्र बिक्री–वितरण गर्ने र नाबालक, महिला तथा दीर्घरोगीलाई बिक्री नगर्ने र नियम उल्लंघन भए पहिलोपटकलाई पाँच हजार रुपैयाँ जरिवाना गरिनेछ । 

See More On

सुझावित समाचार