साविक विजेता मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड मकवानपुरमा चलिरहेको बागमती गोल्डकप प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार मच्छिन्द्रले थ्री स्टारलाई ३–१ ले हराउँदै फाइनलमा चर्च ब्वाइजसँग भेट पक्का गरेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपिएफलाई हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान बनाइसकेको छ । पहिलो सहभागितामै फाइनलमा स्थान बनाउने क्रममा चर्च ब्वाइजले एपिएफलाई ३–१ गोलले हरायो ।
मच्छिन्द्रको जितमा शिशिर लेखी, समिराज थोकर र विदेशी खेलाडी स्टेफेनले समान एक गोल गरे । थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियम्सले एक गोल गरे । खेलको ३७औँ मिनेटमा विदेशी खेलाडी एलेक्सको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो । तर, सम्हालिएर खेल्न नसक्दा थ्री स्टार सेमिफाइनलबाटै बाहिरियो । एक गोलले पछिपरेको मच्छिन्द्रका खेलाडीहरूले संयमित भएर खेले ।
४२औँ मिनेटमा विंगर शिशिर लेखीले गोल गरे । खेलको ५१औँ मिनेटमा समिराज थोकर र ८२औँ मिनेटमा विदेशी खेलाडी स्टेफेनले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए ।
उनले नगद १० हजार रुपैयाँ पाएका छन् । सोमबार हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।