गफैले देश चलाउने हो भने सम्पत्ति शुद्धीकरणमा नेपाल कालोसूचीमा पर्न धेरै टाढा छैन : सोविता गौतम

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यही शैलीमा देश चलाउने हो भने नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्ने बताएकी छिन्। शुक्रबार नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको सन्दर्भमा उनले सरकारले आँखा चिम्लिएर बसेकाले यो स्थिति आएको बताएकी हुन्। 

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– 

वाह सरकार ! अर्को ऐतिहासिक सफलता ! सन् २०१३ मा युरोपेली संघले नेपाली हवाई क्षेत्रमाथि प्रतिबन्ध लगाएर हाम्रो देशको हवाई क्षेत्रको वास्तविकता उजागर गरिदिएको थियो। एक दशक बितिसक्दा पनि त्यो कालोसूचीबाट हट्न सकेको छैन। अहिले फेरि अर्को गौरवशाली उपलब्धि–नेपाल एफएटिएफको ग्रे लिस्टमा समावेश ! बाधाई छ, सफलताका शृंखलाहरू त निरन्तर उकालो लाग्दै छन् !

सरकारले आँखा चिम्लेर बसे पनि विश्वले हाम्रो देशको कमजोर नीति, भ्रष्टाचार र अपराधप्रति देखाएको मौन समर्थनसँग हिसाब गरिरहेको छ। अब न लगानी सहज हुन्छ, न बैंकिङ प्रणालीमाथि विश्वास रहन्छ, तर सरकार भने जुँगा मुसार्दै बसेको छ, सबै ठिकै छ भन्ने पुरानै धुन दोहोर्याउँदै। यदि यस्तै गफैमा देश चलाउने हो भने, कालोसूचीको ढोका पनि टाढा छैन !

सुझावित समाचार