संघीय निजामती विधेयकमा दफावार छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले कांग्रेस सांसद दिलेन्द्र बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।

सभापति रामहरि खतिवडाका अनुसार सबै दलको प्रतिनिधित्व रहेको सानो टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेस गर्ने गरी उपसमिति बनाइएको हो। उपसमितिलाई कतिपय विज्ञसँग बसेर, आन्तरिक पनि बसेर टुंग्याउन भनिएको छ।

उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, दिलेन्द्र बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन्।

उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ।

सुझावित समाचार