लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू आर्थिक वर्षमा पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्ष ०८१/८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले पुँजीगत खर्च बढाउन र सम्पन्न आयोजनाहरूको भुक्तानी अविलम्ब गर्न निर्देशन दिएका हुन् ।
प्रदेश सरकारले पुँजीगत खर्च गर्न नसकेको आलोचनालाई चिर्न खर्चलाई प्रभावकारी रूपमा बढाउनुपर्नेमा उनले जोड दिए । ‘वैशाखलाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जाने थिए,’ उनले भने, ‘अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पुँजीगत खर्च सबैभन्दा राम्रो छ । तर, यसलाई निरन्तरता दिने गरी काम गरौँ ।’ चालू आर्थिक वर्षको फागुन ३ सम्म लुम्बिनी प्रदेश सरकारले कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । जसमा पुँजीगत खर्च २२.८३ प्रतिशत र चालू खर्च २८.४७ प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले चालू खर्च घटाउने र पुँजीगत खर्च बढाउने नीति अवलम्बन गर्न निर्देशन दिए । संघीय सरकारबाट प्राप्त समानीकरण, ससर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड पनि दिए । लुम्बिनीमा चालू वर्षमा ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकाल, स्वास्थ्यमन्त्री खेमबहादुर सारू, वन तथा वातावरणमन्त्री देवकरण कलवार, प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याललगायतले भावी योजनाबारे आफ्ना धारणा राखेका थिए ।