पोखरा भ्रमण वर्ष २०२५ औपचारिक घोषणा कार्यक्रमको उद्घाटका क्रममा बेलुन पट्केर आगलागी हुँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
३ फागुनमा भ्रमण वर्ष घोषणाको औपचारिक समारोह सुरु भएसँगै उद्घाटनका क्रममा स्विचमार्फत पानस (फायर क्यान्डिल) बालिएको थियो । त्यसपछि भ्रमण वर्षको लोगोसहितको बेलुन उडाउने क्रममा यसअघि रिमोटबाट बालिएको पानसको ज्वालाले हाइड्रोजन ग्यास भरिएका बेलुनलाई भेटाएपछि ठुलो आवाजसहित पड्किएर आगलागी भएको थियो । आगो लागेसँगै अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्यलाई आगोको लप्काले पोलेर दुवैजना घाइते भएका थिए ।
अर्थमन्त्री पौडेलको अनुहार, घाँटी र हातमा पोलेको थियो भने प्रमुख आचार्यको देब्रे गाला र हातमा पोलेको थियो । घट्नालगत्तै दुवैजनालाई पोखरामा प्राथमिक उपचारपछि थप उपचारका लागि सोही दिन हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।
प्रारम्भिक जाँचपछि दुवैजनाको अनुहार पाँचदेखि ६ प्रतिशत जलेको अस्पतालले बताएको थियो । दुवैजनालाई सघन उपचार कक्षमा राखेर उपचार भै रहेकोमा अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका थिए भने मेयर आचार्य आज डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएपछि मेयर आचार्यले प्राविधिक त्रुटिका कारण घट्ना घटेको बताउँदै उपचारमा संलग्न विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् ।