परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी छिन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अल बुसाइदीको आमन्त्रणमा उनी यही फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरूलाई जानकारी गराउँदै मन्त्री डा. देउवाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् । सो सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेशमन्त्रीस्तरीय सहभागिता रहेको थियो । सो सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् ।
यस भ्रमणका क्रममा मन्त्री डा. देउवाले भारतीय विदेशमन्त्री डा. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यसैगरी, उनले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिजमन्त्री, सम्पदा तथा पर्यटनमन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स र श्रीलंकाका विदेशमन्त्री एवं जापानका विदेश राज्यमन्त्रीसँग साइडलाइन भेट गरिन् । इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् ।
त्यसैगरी, जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपालमा गत असोजमा आएको बाढीका कारण क्षति पुगेको बिपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् भने युएई, श्रीलंका र ओमनका विदेशमन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरूलाई आग्रह गरिन् । यस भ्रमणका क्रममा नेपाल र ओमनबिच कूटनीतिक तथा पर्यटन क्षेत्रका दुई छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर पनि भएको थियो ।
‘ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो’
यसैबिच मन्त्री डा. देउवाले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको जानकारी दिइन् ।
यस विषयमा हिजाे मात्र पनि आफूले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको उल्लेख गरिन् ।
भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएकी थिइन् ।
मन्त्री डा. देउवाले भनिन्, ‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्याैँ । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदै छ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरूबसच समन्वय गर्याैँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।’
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग नेपालले गरेको छ ।
यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि मन्त्री डा. देउवाले दिइन् ।
एक प्रश्नको जवाफमा मन्त्री डा. देउवाले नेपाली विद्यार्थी हाल विश्वभर पुगेका, तर सबैको तथ्यांक परराष्ट्रसँग नरहेकाले आगामी दिनमा यस्तो तथ्यांक परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिएमा उनीहरूको उद्धारका लागि सजिलो हुने बताइन् ।