देवीथुमको फेदमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

अछाम जिल्लामा यस वर्षको १५औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता धार्मिक पर्यटकीय क्षेत्र देवीथुमको फेदमा आयोजना गरिएको छ । जिल्ला खेलकुद समिति अछामको आयोजना र चौरपाटी गाउँपालिकाको व्यवस्थापनमा देवकन्या माईको तपोभूमिका रूपमा परिचित देवीथुमको फेदमा रहेको थला खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।

जिल्ला खेलकुद समितिका अध्यक्ष केशर खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले सुदूरपश्चिममा नेपाली खेलकुद क्षेत्रले राम्रो प्रगति गरेको टिप्पणी गरेका छन् ।

खेल क्षेत्रले नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य तन्दुरुस्त बनाउन सहयोग गर्ने भएकाले राष्ट्रका हरेक निकायले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । ‘समाज निर्माणका लागि, युवा र किशोरकिशोरीहरूका लागि खेलकुदको महत्त्व धेरै छ । मानसिक र भौतिक रूपमा स्वस्थ हुनका लागि पनि खेलकुद महत्त्वपूर्ण छ । आज खेल क्षेत्र नमुनायोग्य क्षेत्र बनेको छ । खेल क्षेत्रबाट नमुनायोग्य खेलाडी बनेर राष्ट्रको इज्जत बढाउन, आफ्नो करिअर बनाउन सकिन्छ । अछाममा रहेका अन्तर्राष्ट्रिय खेलाडी देखेर हामी खुसी छौँ,’ उनले भने, ‘अहिले खेल क्षेत्रको राम्रो सम्भावना छ ।

पञ्चेबाजासहित तामझामका साथ भएको उद्घाटनमा देउडा, भुवो, पुतला, होरी (होली) र अन्य नृत्यहरूसमेत प्रदर्शन गरिएका थिए । जारी प्रतियोगितामा कलाकारहरू जनक साउद, भीम विष्ट (अछामी रेखा) टेकबहादुर बोगटी, चरित्रा शाही, बाल कलाकार प्रिन्स शाहलगायतले प्रस्तुति दिइरहेका छन् ।

बुधबार दिनभर उद्घाटन सभा सञ्चालन गरिएपश्चात्र बिहीबारदेखि प्रतियोगिताका विभिन्न खेलहरू सुरु भएको चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले बताए । उनका अनुसार प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहबाट गरी पाँच सयभन्दा बढी खेलाडी चौरपाटी पुगेका छन् ।

११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प, सटफुट, ज्याब्लिङ थ्रो, दौडतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र तीन हजार मिटरलगायतका खेल समावेश रहेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । 

सुझावित समाचार