नेपालका साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपलाई प्रवर्द्धन गर्दै आएको ‘रिभ्याम्प नेपाल’को छैटौँ संस्करण १० फाल्गुनमा प्रदर्शनी भृकुटीमण्डप, काठमाडौंमा हुने भएको छ ।
आयोजकका अनुसार यस संस्करणलाई नेपालकै सबैभन्दा ठूलो स्टार्टअप तथा व्यापार प्रदर्शनी बनाउने तयारी भइरहेको छ । पहिलोपटक सातै प्रदेशमा प्रदेश संस्करणसमेत सञ्चालन गरिनेछ, जसले नेपालभरका व्यवसायी तथा स्टार्टअपलाई सहयोग हुने विश्वास गरिएको छ ।
‘रिभ्याम्प नेपाल’ले नेटवर्किङ, लगानी, र फ्रेन्चाइजिङ अवसर प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । यस वर्षको संस्करणमा डेढ सयभन्दा बढी स्टार्टअप सहभागी हुने र १० हजारभन्दा बढी दर्शक उपस्थित हुने अनुमान गरिएको छ ।
सन् २०२१ मा सुरु भएको रिभ्याम्प नेपालले नेपालका स्टार्टअप तथा एसएमईका लागि बजार पहुँच, व्यवसाय वृद्धिका अवसर तथा नयाँ लगानीकर्तासँगको सम्पर्क जोड्ने पुलको काम गर्दै आएको छ ।