युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबिचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले द्वन्द्वको अन्त्य गर्न चाहेको बताएका छन् । उनले तीन वर्षअघि सुरु भएको युद्ध युक्रेनका कारण भएको आरोप लगाए । युद्धअघि जेलेन्स्कीले रुससँग सम्झौता गर्न नमानेकाले आजको स्थिति आएको उनको आरोप थियो।
अमेरिकी अधिकारी र रुसी प्रतिनिधिबिचको वार्ताबारे सोधिएको प्रश्नमा ट्रम्पले आफू ‘धेरै बढी विश्वस्त’ भएको र ‘वार्ता धेरै राम्रो भएको’ प्रतिक्रिया दिए । ‘रुसीहरू त्यहाँ भइरहेको बर्बरतालाई रोक्न चाहन्छन् । साप्ताहिक रूपमा हजारौँ सैनिक मारिँदै छन् । रुसी र युक्रेनी सैनिकबाहेक कोरियाली सैनिक पनि मारिएका छन्,’ मार–अ–लागोमा मंगलबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘हामी यसलाई अन्त्य गर्न चाहन्छौँ । यो एक अर्थहीन युद्ध हो । यो खासमा सुरु नै हुनु हुँदैनथ्यो, म राष्ट्रपति भएको भए यो युद्ध हुने नै थिएन ।’
उल्लेखनीय छ, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अन्य अधिकारीसँग साउदी अरबमा भेटवार्ता गरेका थिए । वार्तामा युक्रेनको स्थितिसहित विभिन्न विषयमा केन्द्रित भएर दुवै पक्षले संघर्ष समाधान गर्न र यसका मूल कारणलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । चार घन्टाभन्दा बढी चलेको वार्तापछि अमेरिका र रुस चारवटा मुख्य सिद्धान्तमा सहमत भएको मंगलबार रुबियोले बताए ।