अर्थशास्त्री प्राडा पुष्कर बज्राचार्यलाई ३ प्रश्न

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

युएसएड र एमसिसी अनुदान रोकिनुले कस्तो प्रभाव पर्न सक्छ ?
एमसिसी जेजसरी आयो, त्यो त्यतिखेर पनि निकै विवाद बोकेरै आएको थियो । आउँदा नै यसले राजनीतिक उद्देश्य बोकेको थियो । त्यसैले, यो बन्दै भयो भने पनि त्यति ठुलो नकारात्मक प्रभाव त नपर्ला । तर, युएसएड या एमसिसीअन्तर्गत अघि बढिसकेका आयोजनामा भने केही असर पर्न सक्छ । एमसिसीअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढेको थियो । त्यो अत्यावश्यक काम पनि हो । त्यसैले, सहयोग रोकियो भने त्यसलाई आफ्नै बुतामा पूरा गर्न कठिन भए पनि असम्भव नै भने छैन । 

भविष्यमा अन्य मुलुक या दातृ निकायले पनि यही बाटो पछ्याए भने नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?
हामीले दाताको सर्त मानेर अनुदान स्विकारेका छौँ भने त्यस्ता परियोजना बन्द हुँदा खासै प्रभाव पर्दैन । हामीलाई अत्यावश्यक भएरै स्विकारेर अघि बढिसकेका आयोजनामा भने प्रभाव पर्न सक्छ । तर, यसबारे आजैदेखि सतर्क हुन र यस्तो पनि हुन सक्छ भनेर तयारीमा जुट्न भने आवश्यक छ । 

यसले आत्मनिर्भर अर्थतन्त्रको ढोका खोल्ने सम्भावना कति हुन्छ ?
निश्चित रूपमा त्यस्तो सम्भावना हुन्छ । एकातिरको बाटो बन्द भयो भने अर्कातिरको बाटो खुल्न पनि सक्छ । हामीले अबका दिनमा अनुदान या ऋण स्विकार्दा त्यो आयोजना देश र जनताका लागि कति आवश्यक छ भन्ने पक्षमा विचार पुर्याउनुपर्छ । हामीलाई फलदायी नहुने, हामीबाटै ‘ड्राइभ’ हुन नसक्ने र दाताका सर्तमुनि थिचिनुपर्ने खालका आयोजनाका लागि आउने अनुदान या ऋण स्विकार्नु हुँदैन । साथै, बिस्तारै प्रतिफलमुखी क्षेत्र पहिचान गरी आफ्नै स्रोत–साधन खर्चिनेतर्फ हाम्रो ध्यान जान सक्यो भने यसले आत्मनिर्भर अर्थतन्त्रको ढोका खोल्न पनि सक्छ । 
 

सुझावित समाचार