फोर नेसन्स कप फुटबल : नेपाललाई फाइनलमा स्थान बनाउने अवसर

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

आफूभन्दा ३१ स्थान तल रहेको लेबनानविरुद्ध एक वर्षभित्र दोस्रोपटक प्रतिस्पर्धा गर्दै 

नेपाली राष्ट्रिय महिला टोलीले बिहीबार फोर नेसन्स कप फुटबल प्रतियोगितामा लेबनानको सामना गर्दै छ । लेबनानलाई पराजित गरे नेपालले फाइनलमा स्थान बनाउनेछ, तर दशरथ रंगशालामा दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई हराउनुपर्छ । आ–आफ्नो दोस्रो खेलमा जित निकाल्दा किर्गिस्तान र नेपाल एक खेलअघि नै अन्तिम दुईमा पुग्नेछन् । बराबरी नतिजा निकाल्दा अन्तिम खेलको नतिजाले अन्तिम दुईमा पुग्ने टोलीको छिनोफानो हुनेछ । 

नेपाल र लेबनानबिच एक वर्षभित्र दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०२४ मा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो । फोर नेसन्सको उद्घाटन खेलमा किर्गिस्तानसँग ३–१ ले पराजित लेबनानले नराम्रो खेलेको थिएन । उनीहरू केवल फिनिसिङमा कमजोर देखिएका थिए । लेबनानले सुधारिएको खेल प्रदर्शन गरे घरेलु टोली नेपाललाई समस्या हुन सक्छ ।

नेपालले पहिलो खेलमा आफूभन्दा २५ स्थानमुनिको किर्गिस्तानलाई १–० ले हराएको थियो । त्यस खेलमा नेपालको फिनिसिङ पक्ष फितलो थियो । अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाललाई दोस्रो खेलमा जित निकाल्न सहज छैन । टोलीका प्रमुख स्ट्राइकर सावित्रा भण्डारीले दोस्रो खेलमा प्लेइङ ११ मै स्थान बनाउन सम्भावना छ । किर्गिस्तानसँगको खेलमा उनी मध्यान्तरपछि मात्र मैदानमा छिरेकी थिइन् ।  फ्रान्सबाट स्वदेश फर्किएको दिनै उनले प्रतिस्पर्धा गरेकी थिइन् । उनले प्रतिस्पर्धा गर्दा फिनिसिङ पक्ष बलियो हुने अपेक्षा छ । कप्तान अञ्जिलाले खेलमा जितबाहेक अन्य विकल्प नभएको बताइन् । ‘लेबनान तुलानात्मक रूपमा बलियो छ । फिफा वरीयतामा जस्तो स्थान भए पनि लेबनानलाई कमजोर आँक्न सकिँदैन,’ अञ्जिलाले भनिन्, ‘योजना जित हो, सबै खेलाडी यसैमा केन्द्रित छन् ।’ 

बलियो लेबनानको डिफेन्स
एक वर्षअघि र वर्तमान लेबनान टोलीमा धेरै परिवर्तन आएको छ । विशेषगरी लेबनानको बलियो पक्ष डिफेन्स हो । उसले प्रतियोगिताकै उच्च वरीयता पाएको म्यानमारलाई पहिलो हाफमा गोल गर्न दिएन । म्यानमारले गोल गर्न धेरै मिहिनेत गरेको थियो । दोस्रो हाफमा सामान्य गल्तीका कारण लेबनान पहिलो खेलमा पराजित भएको थियो । पहिलो खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरिरहेकी गोलरक्षक नाथली माटरले सानदार प्रदर्शन गरेकी थिइन् । 

उनले यसै प्रदर्शनलाई निरन्तरता दिँदा नेपाललाई गोल गर्न गाह्रो छ । पहिलो खेलमा नेपाली खेलाडीले ‘फाइनल थर्ड’मा बारम्बार गल्ती गरेका थिए । यद्यपि, नेपालको फिनिसिङ लाइन बलियो भए पनि उत्कृष्ट टच गर्न सकेका छैनन् । फ्रान्सबाट व्यावसायिक खेलिरहेकी सावित्रा भण्डारीसँगै युएई क्लबबाट प्रतिस्पर्धा गरिरहेकी रेखा पौडेल र राष्ट्रिय महिला लिगमा सर्वाधिक ३५ गोल गरेकी रश्मिकुमारी घिसिङले किर्गिस्तानविरुद्ध उत्कृष्ट फिनिसिङ गर्न सकेनन् । लेबनानको डिफेन्स तोड्न उनीहरूलाई चुनौती हुनेछ । तीनै प्रमुख खेलाडी चुक्दा विंगर विमला चौधरीले एक मात्र निर्णायक गोल गरेकी थिइन् । 

खेलाडी परिवर्तनको सम्भावना
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलका दुई खेलाडी परिवर्तन गर्न सक्छन् । अगाडि सावित्रा भण्डारीले सुरुमै मौका पाउन सक्छिन् । किर्गिस्तानसँगको खेलमा उनी दोस्रो हाफमा मात्र खेलेकी थिइन् । डिफेन्डर निशा थोकरको स्थानमा अमृता जैसी वा मनमाया दमाईंलाई खेलाउने सम्भावना छ । पहिलो खेलमा प्लेइङ ११ बाटै खेलेकी निशा विपक्षीसँग जुधेपछि घाइते भएकी थिइन् । उनी अहिले रेस्टमा छिन् । 

तामाङले लेफ्ट ब्याक खेलेकी विमला विकलाई सेन्टर ब्याकबाट खेलाउन सक्नेछन् । सम्भवतः मनमायाले डेब्यु गर्न सक्छिन् । डिफेन्समा गीता राना र पूजा रानाले कमान्ड सम्हाल्नेछन् । गोलरक्षकमा अञ्जिला हुँदा मिडफिल्डमा प्रीतिलाई पूर्वकप्तान रेनुका नगरकोटे, सविता रानामगर र विमला चौधरीले साथ दिनेछन् । 

प्रशिक्षक तामाङले लेबनान बलियो टोली रहेको बताए । ‘एक वर्षअघि भएको खेलमा लेबनानलाई हराउन गाह्रो भएको थियो, अहिले उनीहरूको प्रदर्शन राम्रो छ,’ उनले भने । प्रीति राईले विपक्षी तुलात्मक रूपमै राम्रो रहेको बताइन् । ‘यसपटक लेबनानलाई सोचेभन्दा फरक पाएका छौँ,’ राईले भनिन् । 

कीर्तिमाननजिक अञ्जिला
लेबनानविरुद्ध मैदानमा प्रवेश गर्दा कप्तान तथा गोरक्षक अञ्जिलाले एउटा कीर्तिमान बनाउनेछिन् । उनी नेपाली महिला राष्ट्रिय फुटबलमा धेरै कप्तानी गर्ने खेलाडी बन्नेछिन् । नेपाली महिला फुटबल टोलीले चार दशकअघि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको थियो । यसबिचमा ११ खेलाडीले नेतृत्व गरेका छन् । पहिलो कप्तान रमा सिंह हुन् । अञ्जिलाको नाममा अहिले १९ खेलको रेकर्ड छ । उनको कप्तानीमा नेपालले कीर्तिमानी १० खेल जितेको छ । यसअघि निरु थापाले १९ खेलमा आर्म ब्यान्ड लगाएकी हुन् । निरुले नौ खेलमा जित दिलाइन् । जमुना गुरुङले नेपाललाई १३ खेलमा जित दिलाइन् । 

सुझावित समाचार