सिरिजंघा गाउँपालिका–४, तेल्लोकनिवासी कवि निमेष अविरल (रुकमान थेबे) को कवितासंग्रह ‘नदीको यात्रा’ सार्वजनिक भएको छ। ताप्लेजुङको फुङलिङ बजारमा बुधबार आयोजित कार्यक्रममा अविरलको कवितासंग्रह विमोचन गरिएको हो।
कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार तथा संगीतकार भरत गुरुङ, पत्रकार महासंघ अध्यक्ष सुवास आचार्यलगायतले कवितासंग्रह सार्वजनिक गरेका थिए। कुल १७० पृष्ठको कवितासंग्रहभित्र दुई खण्ड छन्। ती खण्डमा ८६ वटा कविता समावेश छन्। पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति कविता रहेका छन्।
लेखकको पहिलो कृतिका रूपमा प्रकाशित संग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गर्ने खालका कविता समावेश छन्। कवितासंग्रहको समीक्षा कविद्वय दुःखी महल तिम्सिना र लेकाली कान्छा मुक्कुमले गरेका थिए।
शिक्षण पेसामा आबद्ध कवि अविरलले उपलब्ध समयलाई साहित्य साधना अर्थात् सिर्जना लेखनमा उपयोग गरेका कारण कवितासंग्रह तयार पारी प्रकाशन गर्न सफल भएको बताए।