लोकतन्त्र र गणतन्त्र कसैले दिएको बकस हाेइन : चित्रबहादुर केसी

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले देशमा प्राप्ति भएको लोकतन्त्र कसैले दिएको बकस नभएको दाबी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मूल समारोह कार्यक्रममा सम्बोधन गर्दै केसीले अहिलेका हरेक परिवर्तन जनताले नै संघर्ष गरेर ल्याएको हुँदा यो कसैको बकस नभएको बताएका छन् ।

उनले सत्ता र शक्तिका लागि विभिन्न नेता आउने जाने भए तापनि जनता आफूहरूले ल्याएको परिवर्तनमा ज्ञाता भएको दाबी गरे । ‘नेता त शक्तिका लागि आउँछन्, जान्छन्। जनता त सँगै साक्षी छन् नि,’ केसीले भने, ‘केही प्रतिगामीले जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रको आवश्यकता छैन भन्दै गरेका छन, ती सबै देशका लागि घाती हुन्, लोकतन्त्र र गणतन्त्रका लागि सधैँ हामी पहरेदार भएर लागौँ।’ 

उनले लोकतन्त्र र गणतन्त्रलाई संकटमा पर्न नदिन जनतालाई आग्रह गरे । केसीले ७५ वर्षअगाडि राणाशासनको अन्त हुने वेलाको कुरा सम्झँदै त्यसयता मुलुकमा कति परिवर्तन भए, तर व्यवस्था परिवर्तन भएअनुसार देशको समस्या समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गरे । 

राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेको केसीले मुलुकमा जनताले दुःख गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रमाथि कालो बादल मडारिएको बताए। उनले केही प्रतिगामी तत्त्वकै कारण जनताले ल्याएका परिवर्तनमा नै समस्या उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शक्तिमा बस्नेले नराम्रो गरे पनि उनीहरूलाई सजाय दिनका निम्ति लोकतन्त्र आवश्यक रहेको बताए । 
 

सुझावित समाचार