अमेरिका र रुसका उच्चस्तरीय कूटनीतिज्ञबिच मंगलबार साउदी अरबमा भेटवार्ता भयो । भेटमा दुई देशबिचको बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको सुरुवात भएको जानकारी दिइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुई देशबिचको यो पहिलो उच्चस्तरीय बैठक हो ।
साउदी राजधानीको दिरियाह दरबारमा बिहान अमेरिका र रुसी कूटनीतिज्ञबिच बैठक सुरु भएको साउदी मिडियाले जानकारी दिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रियादमा भएका छलफलमा किभलाई निमन्त्रणा नगरिएको बताए ।
रुस–अमेरिकाबिच साउदी अरबमा वार्ता हुनुअघि युरोपेली नेताहरूले रुसप्रतिको ट्रम्पको आकस्मिक नरमताविरुद्ध कसरी अघि बढ्ने भन्ने छलफलका लागि सोमबार पेरिसमा भेटेका थिए । यस भेटले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको सम्भावित शिखर सम्मेलनको सहजीकरण गर्ने दुई देशको विश्वास छ । रुस र अमेरिका दुवैले यो बैठकलाई सम्भावित रूपमा लामो प्रक्रियाको सुरुवातका रूपमा हेरेका छन् ।
ट्रम्पले युक्रेनमा तीन वर्षदेखि चलिरहेको संघर्षको द्रुत समाधानका लागि दबाब दिइरहेका छन् । युक्रेनी समाचार एजेन्सीका अनुसार किभलाई रियाद वार्ताबारे ‘केही जानकारी दिइएको थिएन’ । जेलेन्स्कीले युक्रेनसम्बन्धी शान्ति सम्झौताअन्तर्गत ‘बलियो र विश्वसनीय’ सुरक्षा प्रत्याभूति समावेश हुनुपर्ने जोड दिँदै आएका छन् । शान्ति सम्झौताअन्तर्गत युक्रेनले ‘बलियो र विश्वसनीय’ सुरक्षा प्रत्याभूति पाउनुपर्ने मागलाई फ्रान्स र बेलायतले समर्थन जनाएका छन् । तथापि, सबै युरोपेली शक्तिले यसमा समर्थन जनाएका छैनन् ।
बेइजिङले पनि अमेरिका–रुसको वार्ताको स्वागत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले युक्रेनमा ‘शान्तितर्फका प्रयास’लाई स्वागत गर्दै ‘एकै समयमा, हामी सबै पक्ष र सरोकारवालाले वार्तामा भाग लिन सक्ने आशा गरेको’ टिप्पणी गरे । बैठकअघि रुसले पुटिन र ट्रम्प ‘असामान्य सम्बन्ध’बाट अगाडि बढ्न चाहेको र यसमा युरोपेलीहरू किन सहभागी हुनुप¥यो भनेको थियो । युरोपले युक्रेनका विषयमा हुने वार्तामा आफूहरू र युक्रेनलाई सहभागी गराउनुपर्ने माग राखेको छ ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र पुटिनका वरिष्ठ सहयोगी युरी उसाकोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका दूत स्टिभ विटकोफसँग भेटवार्ता गर्नेछन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारलाई वार्ता ‘मुख्य रूपमा रुस–अमेरिकी सम्बन्धको सम्पूर्ण संरचना पुनस्र्थापनामा समर्पित’ हुने बताए । वार्तामा ‘युक्रेनी संकट समाधानका सम्भावित उपाय र दुई राष्ट्रपतिबिच भविष्यमा बैठक आयोजना गराउने विषयमा’ छलफल हुने पेस्कोभले बताए ।
वर्षौंदेखि आफ्ना छिमेकी देशबाट नेटोको उपस्थिति फिर्ता गराउन प्रयास गरिरहेको मस्कोले युक्रेनको सम्भावित युद्धविराम मात्र नभई व्यापक सुरक्षा मुद्दामा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न चाहेको स्पष्ट पारेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुअघि पुटिनले गेटोलाई पूर्वी युरोपका देशबाट आफ्ना सैनिक, उपकरण र आधार हटाउन माग गरेका थिए ।